विराटनगर । सीएनआइ कोशी एक्स्पो, देश विदेशका ठूला कम्पनीहरुको उपस्थिती, ब्रान्डिङ्ग तथा ब्रान्ड प्रमोसनमा लाखौँ खर्च ।
त्यही एक्स्पो अगाडी साझको खाना जोहो गर्ने आसले पसल थापेका छन ९ वर्षीय सत्यम मण्डल । एक्स्पोको उत्तरपट्टि पार्किङ स्थलको नजिकै एक बालक सानो पसल थापेर पानी बेच्न व्यस्थ देखिन्थे । एक्स्पोको रिपोर्टींङ्ग गर्ने क्रममा हाम्रो ध्यान नौ वर्षिय बालक सत्यम मण्डलतिर गयो ।
कक्षा दुईमा अध्ययन गर्ने मण्डल पानीलगायतका सामाग्री बेच्न व्यस्थ देखिन्थे। सो दृष्य हामीले क्यामेरामा कैद गरिरहँदा उनको ध्यान उत्सुकतापूर्वक हामीतिर आकर्षित भयो । हामी उनको छेउमा जाँदा उनी हामीलाई एकोहाेरोरुपले हेरिरहेका थिए ।
हामीले सत्यम मण्डलको अवस्था बुझ्न् प्रयत्न गर्योँ । उनीसँग गफिँदै जाँदा नर्सिङ होम छेउमा बुवा र आमासँग सत्यम भाडामा बस्दै आएको थाहा पायौँ । हामीले प्रश्न गर्यौँ ‘आज बिक्री भएको पैसा के गर्ने ’
उनले शिर निहुर्याएर टाउको झार्दै भने ‘घरमा खानेकुरा केही छैन । चामल पनि छैन । यहाँबाट आएको पैसा ममी लाई दिन्छु।’ सत्यमको यस्तो जवाफ सुनेपछि हामीलाई उनीबारे जान्न थप उत्सुकता जाग्यो ।
उनका अनुसार उनका बुवा, आमा जनमजदुरी गरेर जिविकापार्जन गर्ने गरेका छन् । एक्स्पो अगाडी बोरा ओछ्याएर ग्राहक पर्खी रहेका सत्यम ग्राहकको पर्खाइमा थिए ।
कुराकानीका क्रममा उनी एउटै त्रासमा थिए । सडक अबरुद्ध भयो भनेर कसैले आफूलाई त्यहाँबाट हटाउने हो की भन्ने उनमा ठुलो चिन्ता थियो । ‘यहाँ बेचेको पैसाले बेलुका चामल किन्छौँ । आजको छाक टर्छ ।’
विराटनगरको सडकमा बसिरहेका सत्यम मण्डल एक पात्र मात्र हुन् विराटनगरमा यस्ता धेरै बालबालिका छन्, जसले खेल्ने र पढ्ने उमेरमा यसरी नै सडकमा बस्न बाध्य छन् । यस्ता बालबालिकाको भविष्य प्रती सम्बन्धीत निकायको ध्यान दिनु पर्ने आवश्यक देखिन्छ ।
सीएनआइ कोशी एक्स्पो अगाडी ग्राहक कुर्दै ९ वर्षीय सत्यम मण्डल, भन्छन–बेलुका चामल किन्छु