विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् ।
बुधबार बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका एनआरएनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका हुन् ।

‘विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेका छौं हामी,’ मेयर कोइरालाले भने, ‘यो अभियानमा त्यहाँ बसेर पनि तपाईंहरूले सहयोग गर्न सक्नुहुन्छ । विराटनगरवासी धेरै नै हुनुहुन्छ त्यहाँ । सहयोगका लागि तपाईंहरूले अभियान नै सञ्चालन गरिदिनुपर्यो ।’
औद्योगिक र राजनैतिक इतिहास बोकेको विराटनगर पछिल्लो समय पछि परेको बताउँदै मेयर कोइरालाले अब विराटनगरलाई समृद्धि तर्फ लान सवैले आ–आफ्ना ठाँउबाट भुमिका निर्वाह गर्नु पर्ने बताए । उनले अमेरिकामा बसोबासका क्रममा प्राप्त गरेको ज्ञान, अनुभव र सीपलाई विराटनगरको विकासमा प्रयोग गरिदिन आग्रहसमेत गरे । इजरायलको विकासको उदाहरण दिँदै मेयर कोइरालाले भने, “अहिले इजरायलले जुन विकास गरेको छ, त्यसमा विदेशमा बसोबास गर्ने इजरालीहरूको ठूलो योगदान रहेको छ ।”
बैठकमा सहभागी एनआरएनएहरूले विराटनगरको शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको अमेरिकामा कार्यक्रमको संयोजन गर्ने सोमनाथ घिमिरेले जानकारी दिए । आफूले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विराटनगरको विकासमा प्रयोग गर्न तयार रहेको बैठकमा सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु