मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ स्थित गुरुकुल पाठशालाका कक्षा ८ का विद्यार्थीहरुले च्याउ खेतीको परीक्षण उत्पादन गरेका छन् । च्याउ खेति कक्षा ८ को पेशा र प्रबिधि शिक्षा विषय अन्तरगत पाठ्यक्रममै उल्लेख भएको छ । च्याउ खेति गर्नुको मुख्य उद्देश्य व्यापार भन्दा पनि अध्ययन गर्नु रहेको विषय शिक्षिकाले बताईन् ।

यो परियोजनामा कक्षा ८ का २८ जना विद्यार्थीहरुलाई ५ वटा समुहमा बिभाजन गरिएको थियो । जसमा केही विद्यार्थीहरुले पराल र केहिले गहुँको भुसमा च्याउ रोपेका थिए । जसको उद्देश्य गहुँको भुसमा वा परालमा कुनमा बढि च्याउ फल्छ भन्ने पत्ता लाउनु रहेको विद्यार्थीले बताए ।

च्याउ रोपेको २८ दिनमा च्याउ उम्रिन सुरु गरेको र टूसा पलाएको १२ दिनमा च्याउ टिपिएको समुह ५ का विद्यार्थीहरुले बताए । विद्यार्थीहरुका अनुसार च्याउ उत्पादनमा लाग्ने कच्चा पदार्थ पराल, च्याउको बिउ, प्लास्टिकको झोला, चुना, दाउरा र डोरी गर्दा एक पोका च्याउको उत्पादन लागत १६७ रुपैया पर्न आउँछ । पहिलो पटक फल्दा औसतमा प्रति पोका ६८० ग्राम च्याउ फलेको थियो ।

सो च्याउलाई विद्यार्थीहरुले प्रति किलो रु २४० रुपैयाँका दरले विद्यालयमै अभिभावकहरुलाई बेचेका थिए । प्रति पोका च्याउको उत्पादन लागत १६७ रुपैया र पहिलो पटक नै उत्पादन भएको प्रति पोका च्याउबाट रु १६३ आम्दानी भएको थियो । एक पोका च्याउको बिउलाई ६० रुपैया पर्ने हुनाले नगरपालिकाले सो बिउ किसानहरुका लागि निशुल्क उपलब्ध गराउने हो भने च्याउबाट किसानहरुले राम्रो लाभ पाउने देखिएको समुह ३ का विद्यार्थीहरुले बताए ।

अब दोस्रो र तेस्रो पटक फलेको च्याउ नाफा हुने र कति फल्छ सो हेर्न बाँकी रहेको विद्यार्थीहरुले बताए । च्याउ एक प्रकारको ठुसी प्राजति हो जुन सामान्यतया एउटै पोकामा ३ पटक सम्म फल्ने गर्दछ । किताबी र घोकन्ते शिक्षा भन्दा व्यवहारिक ज्ञान र सीप मुलक शिक्षा प्रदान गर्नु विद्यालयको मूल उदेश्य रहेको प्रिन्सिपलले बताए ।
3
Shares
२३ माघ २०७९, सोमबार ११:२४