विराटनगर । भन्सार छलेर चोरी तस्करी गर्न सक्रिय ११ जनाविरुद्ध विराटनगर भन्सार कार्यालयले मुद्दा दर्ता गरेको छ ।

विराटनगर महानगरपालिका–१५ को ३ नम्बर ढाटमा केही साताअघि भन्सार गस्तीमाथि आक्रमण गर्नेविरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता गरेको हो ।

भन्सार कार्यालयका कर्मचारीमाथि मङ्सिर २३ गते राति आक्रमण प्रयास भएको थियो । त्यसको तीन दिनपछि विराटनगर–१७ का मोहमद सदाम मियाँलाई सीसीटीभी फुटेजका आधारमा प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।

अवैध चोरी निकासी र पैठारी गरेको आरोपमा भन्सार कार्यालयले सदामलाई सात लाख ५० हजार रुपियाँ धरौटी लिएर तारेखमा छोडेको छ ।

भन्सार कार्यालय विराटनगरको मुद्दा शाखाका अधिकृत प्रेम सुवेदीका अनुसार अनुसन्धानका क्रममा देखिएका बाँकी १० जना अहिलेसम्म फरार छन् ।

एक जनालाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानबाट भारतबाट अवैध रूपमा तस्करीमा संलग्न रहेकाले भन्सार कार्यालयका कर्मचारीमाथि आक्रमण गरेको खुलेपछि एक पटक ११ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

फरार रहेका बाँकी १० जनालाई नियन्त्रणमा लिएर बुझाउन जिल्ला प्रहरी कार्यालय, मोरङलाई पत्राचारसमेत गरेको भन्सारले जनाएको छ ।

21
Shares
२७ पुष २०७९, बुधबार १०:१३