विराटनगर । चिसो दिनदिनै बढिरहेको छ । तराईमा हुस्सु लाग्ने अनि चिसो बतास चल्ने गर्दा जनजीवन प्रभावित बनिरहेको छ । पहाडी क्षेत्रतिर पनि चिसो अत्यधिक बढिरहेको छ । हिमाली क्षेत्र त यसै पनि चिसोको पर्याय नै हो ।
चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो, मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको दुखाइ । विभिन्न कारणले दाँत दुख्ने, रगत आउने, गिजा सुन्निे, किराले खाने जस्तो समस्याले धेरैलाई हैरान बनाउँछ ।
जाडो याममा यस्ता समस्या तुलनात्मक रुपमा बढी हुने गर्छ । चिसोको कारण कम समय मात्र ब्रस गर्ने गरिन्छ । त्यसकारण पनि दाँतमा समस्या हुने गर्छ । धेरैलाई चिसो पानी पिउँदा दाँत सिरिङ्ग हुने गर्छ ।यी र यस्ता अनेक समस्या त हुन्छन् नै । तर तिनको समाधान र पूर्वसावधानी पनि विभिन्न खालका हुन्छन् ।
जाडोमा दाँतको ख्याल कसरी गर्ने ? के कुरामा ध्यान दिने ? दाँतबाट हुने समस्याबाट कसरी बच्ने ? यिनै प्रश्नहरुको सेरोफेरोमा रहेर ‘न्यू प्रतीक्षा पोलिक्लिनिक’ का सर्जन सुधीर श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ ।
जाडोमा चिसो पानी पिउँदा कतिपयलाई दाँत सिरिङ्ग भएर असहज हुने गर्छ । यस्तो के कारणले हुन्छ ?
उमेरसँगै दाँत खिइने गर्छ । दाँतको पत्र हुन्छ । पहिलो पत्रमा चिसो, तातो, अमिलो खाँदा केही फरक पर्दैन तर जब पहिलो पत्र जसलाई इनामेल भनिन्छ, त्यो खिएर जान्छ त्यसपछि माथिल्लो तह (डेन्टिन) को नजिक पुग्छ तब दाँत बढी सिरिङ्ग हुने हुन्छ । विभिन्न कारणले यस्तो हुने गर्छ । नमिलेको दाँत ठोक्किएर काटिने । धेरै मात्रमा अमिलो खाँदा दाँत खिइने गर्छ । त्यसैले गर्मीमा भन्दा जाडोमा चिसो खाँदा दाँत कुँडिने गर्छ । उमेरसँगै दाँत खिइने, धेरै मात्रामा कडा खालको ब्रस प्रयोग गर्दा, सही तरिकाले दाँत सफा नगर्दा पनि दाँतमा त्यस्तो समस्या हुन्छ ।
धेरैको दाँतबाट रगत आउने, गिजा सुन्निने समस्या सुनिन्छ, के कारणले हुन्छ ? कसरी समाधान गर्ने ?
दाँतमा हुने समस्यामध्ये गिजामा हुने समस्या पनि प्रमुख हो । सही तरिकाले दाँत नमाझ्दा, सफा नगर्दा यस्तो समस्या आउने गर्छ । दिनको दुईपटक दाँतमा ब्रस गर्नु उचित हुन्छ । बिहान खाना खाएर र बेलुकी सुत्ने बेलामा । केही खाएर मजाले मुख कुल्ला गर्नुपर्छ । फोहोर नै दाँतमा बढी समस्याको कारक हो ।
बालबालिकाको दाँत दुख्दा वा वयष्ककै पनि किराले खाएको भन्ने चलन, छ । साँच्चै दाँत किराले खान्छ ?
वास्तवमा दाँतमा किरा हुँदैन । बच्चाहरुमा किन धेरै समस्या देखिन्छ भन्दा बच्चाहरुको ६–७ महिनादेखि दाँत निस्कन सुरु हुन्छ । तर धेरैजसो बच्चाहरुलाई २–३ वर्षपछि मात्र अभिभावकले ब्रस गराउने गर्छन् । त्यसअघि बच्चाले ब्रस गरेको हुदँैन । खाएको खानाले दाँतलाई सडाउन थाल्छ । अनि बिस्तारै खाएको खाने कुरा मुखमा अड्किएर रहयो भने अमिलोपन, एसिड निस्कन्छ । तयसले दाँत खिइन्छ । खाल्डो बन्दै जान्छ । त्यही खाल्डोलाई नै डेन्टल कियररिज अथवा सडेको भनिन्छ । किरा लागेको भन्ने हुँदैन ।
दाँतसम्बन्धी कस्ता समस्या लिएर बढीजसो बिरामी आउँछन् ?
मुख्य समस्या भनेको दाँत सड्ने र गिजाको समस्या नै हो । सुरुमा गिजाको समस्या हुन्छ । त्यसपछि रगत आउने, मुख गन्हाउने । उपचार नगर्दा बिस्तारै दाँतको जराको हड्डीको वरिपरि खिइएर जान्छ । अनि दाँत हल्लन थाल्छ ।
स्वास्थ्यका लागि खानपिन महत्वपूण हो । दाँत सुरक्षित राख्न कस्तो खानपिन गर्ने ?
सजिलैसँग दाँतमा टाँसिने खाना, जस्तै चकलेट, रेडिमेड खाना चाउचाउ, कुरकुरे जस्ता खानेकुरा धेरै मात्रामा कम गर्नुपर्ने हुन्छ । अत्याधिक मात्रमा चिनी बढी भएको खानेकुराहरुले दाँत सड्न सहयोग पुर्याउँछ । ब्याक्टेरियाहरु सक्रिय हुन्छन् । त्यसैले अत्यधिक मात्रमा गुलियो चिज र दाँतमा सजिलैसँग अड्किने चिजहरु हानिकारक छ । फाइबर डाइट, जस्तै माछामासु, हरियो सागपात दाँतको स्वास्थ्य लागि राम्रो हुन्छ ।
केही खाने कुरा दाँतमा अड्कियो भने सिन्काले घोचेर निकालने चलन छ । यसो गर्नु ठिक हो ?
दाँतमा अड्किएका खानेकुरा सिन्काले घोचेर निकाल्नु एकदम हानिकारक हो । त्यस्तो गर्दा गिजा फुल्ने गर्छ । दाँतमा ग्याप हुन सक्ने सम्भावना हुन्छ । त्यसैले ब्रस गर्ने अथवा डेन्टल फल्स प्रयोग गरे दुई दाँतबीच अड्किएको खानेकुरा सजिलै निस्कन्छ ।
अचेल धेरैले दाँत भर्ने भन्ने गरेको सुनिन्छ, के कस्तो अवस्थामा भर्नुपर्छ दाँत ?
दाँत सडेपछि उपचार गर्नैपर्छ । दाँतमा विभिन्न लेयर (तह) हुन्छ । पहिलो लेयर दाँत सड्नु भनेको इनामेल, जसमा खाल्डो छ भने त्यसले दुखाई हुँदैन । त्यो बेला उपचार भयो भने सजिलो, सस्तो र समय पनि धेरै लाग्दैन । तर इनामेलबाट दोस्रो लेयरमा गयो भने दाँत सिरिङग गर्न थाल्छ । त्यसमा पनि दाँत भर्न सकिन्छ । तर खाल्डो जब नशामा पुग्छ अनि दुखाई हुन थाल्छ । त्यसमा पनि दाँत खोल्न पर्दैन, रुट कियानल ट्रिटमेन्ट (दाँतको नशाको उपचार ) दाँतको टुप्पोदेखि भरेर कभर लाएपछि त्यस्तो गाह्रो केही हुँदैन।
दाँत भर्दा अरु खालका समस्या हुन्छन् पनि भनेको सुनिन्छ, यो कत्तिको सत्य हो ?
दाँत भर्दा क्यान्सर लाग्छ भन्ने कुराहरु एकदमै सुनिन्छ तर यो भ्रम हो । त्यस्तो केही समस्या हुँदैन । अचेल नयाँ सामग्रीहरुबाट बनेका दाँतकै रङको हुन्छ, भरेको थाहा पनि हुँदैन र यसले शरीरमा कुनै रोग पनि निम्त्याउँदैन र असर पनि गर्दैन ।
दाँतलाई तारले बाँधेको देखिन्छ कतिपयले । किन यसो गर्नुपर्छ ?
कतिपयको दाँत मिलेको हुँदैन, बाङ्गो टिङ्गो हुन्छ । कसैको रुप नै परिवर्तन भएको हुन्छ । त्यसैले विभिन्न माध्यमबाट दाँतमा तार बाँध्दा व्यक्तिव नै फेरिने गरेको देखिन्छ । त्यसैले तार बाँध्दा फाइदै हुन्छ । नराम्रो असर केही हुँदैन ।