आइतबारको कार्य व्यवस्था समितिको बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो । उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ ।
सभामुखको निर्वाचन कार्य तालिका सार्वजनिक गर्ने र मनोनयन पनि आज नै गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
मुख्यमन्त्री आलोपालो हुनुपर्ने माग राख्दै माओवादी केन्द्र भने सरकारमा सामेल भएको छैन । माओवादीले मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई दिएको समर्थन भने कायमै राखेको छ ।अघिल्लो प्रदेशसभाले राजधानी विराटनगरलाई तोकेको थियो । तर अर्को मुख्य काम प्रदेश नामकरण भने अझैसम्म हुन सकेको छैन ।
यो प्रदेशसभाले प्रदेशको नाम राख्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री कार्कीले सकेसम्म सहमति गरी प्रदेशको नामकरण टुंग्याउने प्रतिबद्धता जनाउँदै आएका छन् ।