छलफलमा प्रतिनिधिसभा सदस्य सोबिता गौतम, समानुपातिकतर्फका सांसद अशोक चौधरी, प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका मोरङ ६ का उम्मेदवार यादव प्रधानलगायत नेताको सहभागिता थियो ।
पार्टीको मोरङ समितिका अध्यक्ष क्षितिज गौतम, सल्लाहकार केशव अधिकारीलगायतको कार्यक्रममा सहभागिता थियो ।पार्टीको आन्तरिक रणनीति बनाएर त्यसअनुसार कार्यनीति बनाउँदै अघि बढ्नेबारे छलफल गरिएको गौतमले बताए ।
थोरै समयमै देशमा राष्ट्रिय पार्टी निर्माण गर्न सफल भएकाको सहभागीको भनाइ छ ।मतदाता र समर्थकको राम्रो साथ पाएकाले अब आफूहरुको काँधमा देशका लागि महत्वपूर्ण काम गर्नुपर्ने दायित्व थपिएको नेताहरुले बताएका थिए ।
मोरङमा पनि मतदाताले राम्रै साथ दिएको पार्टीको निष्कर्ष छ । गिरिजाप्रसाद कोइराला, शेखर कोइराला, लालबाबु पण्डित जस्ता अग्रज नेताहरु भएको मोरङको राजनीतिक अवस्था पछिल्लो समय परिवर्तन भएको बुझाइ उक्त पार्टीका नेताहरुको छ ।
मोरङमा पनि आफूहरुलाई उल्लेख्य मत आएको भन्दै पार्टीका नेताहरुले निर्वाचनमा पराजित भएर पनि जनमत राम्रो आएकाले हारेर पनि जितेको निष्कर्ष नेताहरुको छ ।
समग्र देशको परिणामका आधारमा आफूहरुले अघि सारेका एजेन्डा पूरा गर्न सके आगामी चुनावमा अरु पार्टीको जमानत जफत हुने अवस्था देखिएको धारणा नेताहरुले राखेका थिए ।
प्रतिनिधिसभा सदस्य सोभिता गौतमले देश र जनताका लागि कहिल्यै नबिर्सिने इतिहास रच्ने काममा आफूहरु लाग्ने बताएकी थिइन् । हामी नेपाली हौं भनेर गर्व गर्न लायक काम गरेर देखाउने प्रतिबद्धता उनले जनाइन् ।