विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
उनले प्रदेशको नामकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने पनि बताए । सबैको सहमतिमा प्रदेशको नाम राखिने उनको भनाइ छ ।
प्रदेशको मन्त्रालय संख्या बढाउने चर्चा चलिरहेका बेला उनले मन्त्रालयको संख्या नबढाउने पनि बताए ।सोमबार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथग्रहण गरेका थिए ।
त्यसलगत्तै मन्त्रिमण्डल गठन गरिएको हो ।प्रदेश प्रमुख खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई मन्त्रीका रुपमा शपथ ग्रहण गराएका छन् ।
सबै मन्त्रीहरु हालका लागि बिना विभागीय छन् । उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेदारी दिइएको छैन ।
प्रदेश १ को भौतिक संरचना बनाउने काम चाँडै गर्ने पनि मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।
सहमति र सहकार्यका साथ अघि बढ्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासका लागि सबैको सहयोग आवश्यक हुने बताए ।
यसैबीच, प्रदेश १ प्रदेशसभाका सभामुखको निवार्चन पुस २८ तथा उपसभामुखको निर्वाचन पुस ३० गते हुने भएको छ ।