विराटनगर । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ ।

माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले अपमान भएको बताए । आलोपालोबारे लिखित सहमति नभएसम्म सरकारमा सहभागी नहुने बताए ।

मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखकोमा जानु अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि गठबन्धन ५ वर्ष कायम हुने बताउदै मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन हुनसक्ने बताएका थिए ।

हिजो साझ शीर्ष नेताहरुबीच भएको सहमतिमा मुख्यमन्त्री ५ वर्ष नै एमालेले पाउने उल्लेख भएपछि माओवादी असन्तुष्ट भएको हो । सरकारलाई दिएको समर्थन भने यथावत रहने माओवादीले जनाएको छ ।

एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ ।
77
Shares
२५ पुष २०७९, सोमबार १२:३९