नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री कार्कीले विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो २ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ।
मुख्यमन्त्री कार्कीको निजी सचिवालयका अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले दिउँसो उनलाई पद तथा गोपनीयताको सपथग्रहण गराएपछि सानो आकारको मन्त्रिमण्डल गठन हुनेछ।प्रारम्भिक चरणमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी भएको एक नेताले जानकारी दिएका छन् ।
यसक्रममा सत्ता साझेदार दलबाट मन्त्रीहरुको शपथ ग्रहण हुने बताइएको छ।मन्त्रिमण्डलमा प्रदेश सरकारका लागि समर्थन दिएका नेकपा माओवादीबाट तेह्रथुमका प्रदेश सभासदस्य तथा पार्टी केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई, झापाबाट निर्वाचित राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र ताप्लेजुङबाट समानुपातिकतर्फ जनता समाजवादीकी प्रदेश सभासदस्य निर्मला लिम्बूले पहिलोचरणमा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने देखिएको छ।
यससँगै सत्ताको नेतृत्व गरिरहेको एमाले ताप्लेजुङका तिलकुमार मेन्याङबोले मन्त्रालयको जिम्मेवारीवहन गर्ने एमालेका एक प्रदेशसभाका सदस्यले जानकारी दिएका छन्।
प्रदेश प्रमुख खापुङले प्रदेश सभा सरकारको गठनका लागि दलहरुलाई आव्हान अनुसार एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी, राप्रपा, र जसपाकाको समर्थनमा २४ गते आइतबार बेलुका ४ बजे मुख्यमन्त्रीको लागि कार्कीलाई नियुक्त गरेका थिए।
प्रदेश सभामा एमालेको ४०, माओवादी १३, राप्रपा ६ र जसपाको १ गरी कुल ६० जना प्रदेश सभा सदस्य छन्।
प्रतिपक्षमा नेपाली कांग्रेस २९ र नेकपा एकीकृत समाजवादी ४ जना सदस्य छन्।