प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।कार्की प्रदेश १ का चौथो मुख्यमन्त्री हुन् । यसअघिको कार्यकालमा तीनजना मुख्य मन्त्री फेरिएका थिए । एमालेका शेरधन राई, एमालेकै भीम आचार्य र एकीकृत समाजवादीका राजेन्द्रकुमार राई (बहालवाला) तीनजना मुख्यमन्त्री बनिसकेका छन् ।
कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका संसदीय दलका नेता भक्ति सिटौला र जसपाकी संसदीयल दल नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए ।प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुई तिहाई सदस्य अर्थात् ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो ।
प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आज ५ बजेसम्मको समय दिएका थिए ।
मुख्यमन्त्री कार्कीको शपथ भोलि सोमबार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शपथ ग्रहणपछि कार्कीले भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताएका छन् ।
प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको पनि दाबी थियो । गठबन्धनका मुख्य दुई पार्टीका शीर्ष नेताहरुबीच पहिलो चरणमा कार्की मुख्यमन्त्री बन्ने सहमति बनेपछि कार्कीले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म
विद्यालयमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका कार्की पार्टी राजनीतिमा २०३६ सालतिर सामेल भएका थिए । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइएल अध्ययन सकेर उनी २०४२ सालमा उच्च शिक्षाका निम्ति नेपाल ल क्याम्पस काठमाडौंमा भर्ना भएका थिए ।
कार्कीले कानुनमा स्नातकोत्तर तह (एलएलएम) अध्ययन पूरा गरेका छन् । अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत रहे ।
कार्की विद्यार्थी विषेश जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।
एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा स्वयंसेवकको रुपमा सहभागी भएका उनी अहिले पार्टीको केन्द्रीय स्थायी समिति सदस्य छन् ।
नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ सालसम्म कार्की मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज भए ।
प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटीको प्रचार विभाग प्रमुख रहेका उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ५ ९१० बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा २०७४ फागुन ३ गतेबाट २०७८ भदौ १० गतेसम्म उनले जिम्मेवारी सम्हालेका थिए ।