यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको बताए ।
“विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दछौं, उनले भने, “अब हाम्रो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा पूर्ण रुपमा लाग्छ ।”उनले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताए । उनले त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी सङ्गठनसँग छलफल गर्नुपर्ने बताए । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताइन् ।
उनले मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताइन् । “विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तोक्नु खुसीको कुरा हो”, उनले भनिन्, “अब हामी स्ववियु निर्वाचनको वातावरण बनाउन लाग्छौँ ।” उनले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा डोर्याउनेसमेत बताइन् ।अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताए । उनले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने बताए ।
यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो ।