विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आइतबारदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने जनाएको छ ।

विराटनगर र जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु हुन लागेको हो । यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएको थियो ।

यस्तै श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृत लिन सकिने भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

यो सँगै सात वटै प्रदेशबाट सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

श्रम स्वीकृति लिनका लागि भौतिक रूपमा कार्यालयमै उपस्थित हुनु पर्ने र विभिन्न झन्झट हुने समस्यामा ध्यानमा राखेर अनलाइनमार्फत् नै सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको जनाइएको छ । सबै खाले श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनमार्फत् नै प्रदान हुन्छ।

पुनः श्रम स्वीकृतिदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति पनि पूर्ण रूपमा अनलाइनबाट मात्र प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि कोही पनि कार्यालयमा गएर लाइन लाग्नु पर्दैन ।

यसअघि प्रदेशबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए।

49
Shares
२४ पुष २०७९, आईतवार ०७:१५