विराटनगर। विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा ‘पण्डित श्री घनश्याम पोखरेल स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ ।

दीप प्रज्वलनसहित सुरु भएको कार्यक्रममा पञ्चलीका बटुकबाट स्वतिकबाचन गरिएको थियो । नेपाल आइडल फाइनलिस्ट लक्ष्मी पौडेलले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।

पण्डित घनश्याम पोखरेल स्मृति—प्रतिष्ठानका सभापति भोलानाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिका रुपमा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ सहभागी भएका थिए ।

प्रमुख अतिथि खापुङले गुरुहरू र विद्धान आचार्यहरुले समाजलाई अगाडि बढाउने काम गर्दै आएको बताए ।

समाजमा विविधता भए पनि एकजुट भएर अघि बढ्न गुरुहरुको योगदान महत्वपूर्ण हुने उनको भनाइ थियो ।

नेपालीबीच मेलमिलाप कायम गर्ने भाषा, लिपि र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

स्मृति गन्थ्रका प्रधान सम्पादक डा .रघुनाथ नेपालले ग्रन्थबारे चर्चा गरेका थिए ।

जीवनमा आफूले गरेका काम र ख्याति आफैं भन्न कतिपयलाई मन नपर्ने उल्लेख गर्दै उनले सबैको स्मृति ग्रन्थ पनि नलेखिने बताए ।

तर अरुका लागि प्रेरणादायी हुने अनुभव र उपलब्धिहरुलाई किताबमा उतार्नु महत्वपूर्ण हुने उनले बताए ।

छ खण्ड र ६११ मा समेटिएको ग्रन्थका सम्पादकहरुमा भवानीप्रसाद मिश्र, कुरेश पाण्डे र ईश्वर गुरागाई छन् ।

कार्यक्रममा मेधावी छात्र पुरस्कारद्वारा लक्ष्मीनारायण वेदविद्याश्रम गुरुकुलम् पाञ्चली, विराटनगरमा अद्ययनरत कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने उज्जवल अर्याललाई समानित गरिएको थियो ।

पिण्डेश्वर विद्यापाठि, धरानका सहप्राध्यापक डा. सागर मानी सुवेदीले कृतिबारे चर्चा गरेका थिए ।

ग्रन्थबाट धेरै ऐतिहासिक कुराहरुबारे जानकारी लिन सकिने उनले बताए ।

नेपाल र भारतका अरु ठाउँमा इतिहासमा नसमेटिएका पक्षहरु कृतिमा समेटिएको उनले उल्लेख गरे ।

अक्षरका माध्यमबाट गुरुदक्षिणा स्वरुप उक्त ग्रन्थ तयार भएको अनुभव उनले सुनाए ।

साहित्यकार प्राज्ञ दाधिराज सुवेदीले एक महत्वपूर्ण आस्था पुरुषका बारे स्मरणीय ग्रन्थ तयार भएको उल्लेख गरे ।

चतराका स्वामी अनिरुद्धाचार्यका अनुसार पण्डित घनश्याम पोखरेल सानै उमेरदेखि लगनशील र मेहनती भएको स्मरण गरे । उनले वैदिक सनातन धर्मलाई आफ्नो जीवनमा आत्मसात् गरेको पनि उनले बताए ।

कार्यक्रममा झापा, चतरा, इटहरी, विराटनगर, धरान, दाङलगायत स्थानबाट प्रतिनिधित्व गरेका सहभागीहरु सामेल थिए ।

357
Shares
२३ पुष २०७९, शनिबार १७:०४