विराटनगरले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरका लागि कप्तान रोहितकुमार पौडेलले ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय इनिङ खेले ।रोहितले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतकसहित २ सय ८६ रन बनाएका छन् । रोहित यस प्रतियोगिताको सवार्धिक रनकर्ताको शीर्ष पाँचमा रहेका एकमात्र नेपाली खेलाडी हुन् ।
गौरान्शु शर्माले ४९ बलमा ४ चौका सहयोगमा अविजित ५१ रनको अर्धशतकीय इनिङ खेले । हुसेन तलत २१ रनमा आउट भए ।काठमाडौंका लागि अबिनाश बोहोराले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
विराटनगरका लागि स्पिनर राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिएपछि काठमाडौं १ सय ५४ रनमा समेटियो ।
काठमाडौंका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले ३४र३४ रन बनाउँदा सन्दिप रजालीले ३० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले अविजित २२ तथा बसिर अहमद १७ रनमा अविजित रहे ।
विराटनगरका लागि राज नाननले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले समान १–१ विकेट लिए ।
आजको खेलमा जित हात पारेको विराटनगरले प्लेअफमा स्थान बनाएको छ । काठमाडौंले भने आजको दोस्रो खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
दोस्रो खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेडबीच खेल हुँदैछ । दोस्रो खेलमा पोखरा विजयी भएमा यस खेलमा पराजितसँग अंक बराबर हुनेछ । रन रेटमा अगाडि हुने टोलीले प्लेअफमा स्थान बनाउने छ ।
पहिलो भेटमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको थियो । लुम्बिनी अल स्टार र जनकपुर रोयल्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।