विराटनगर । विराटनगर महानगरपालिको बनाउने भनेको आकाशे पुल योजना अलमलमा परेको छ । योजना पारित गरेको दुई वर्ष बितिसक्दा समेत निर्माण कार्य हुन सकेको छैन ।
२०७७ चैत २ गते तत्कालीन मेयर, हाल प्रदेशसभा सदस्य भीम पराजुलीले आकाशे पुलको शिलान्यास गरेका थिए । तीन स्थानमा पुल बनाउने भनेर शिलान्यास भएको थियो ।निर्माणको ठेक्का पाएको जोशी आरके जेभीले महानगरबाट प्रारम्भिक रुपमा ५ लाख रुपैयाँ बुझेर कामको थालनी समेत गरेका थिए ।
स्थानीय रमेशकुमार तबदार समेतका केही जग्गा धनीले महानगरले निर्माण गर्ने भनेको कञ्चनबारीस्थित आकाशे पुलको जग्गा आफ्नो स्वामित्वमा रहेको भन्दै निर्माण नगर्न मागसहित मुद्दा दायर गरे ।निषेधाज्ञायुक्त परामादेश जारी गर्न माग गर्दै उनीहरुले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका हुन् । उक्त रिट निवेदन ‘कार्वाहीयुक्त अवस्था’ मा रहेको उच्च अदालत विराटनगरले जनाएको छ ।
निवेदनको विषयवाट स्थलगत दृष्य नआउने भएकाले ०७९ जेठ ५ मा मुख्य न्यायधीशको इजलासले प्राविधिक टोलीसहित स्थलगत जाँच गर्न अदेश दिएको छ ।
आकाशे पुलको योजना प्रचारमुखी मात्र भएको स्थानीयको भनाइ छ । ‘पूर्व अनुगमन नगरी या पब्लिसिटीस्टन्ट गर्न गरिएको योजना कहिले सफल हुन्छ र ?’ कञ्चनबारीकी एक स्थानीयले भनिन् ।
महानगरले आफ्नो पसल अगाडि पुल निमार्णका लागि भनेर बनाएको खाल्डाले गर्दा व्यवसायमा असर परेको उनको भनाइ छ । काम नगर्ने भए ढल व्यवस्थापन गरी पैदल यात्रुलाई सहज बनाइदिनुपर्ने उनले बताइन् ।
यस्तै कञ्चनवारीका अर्का स्थानीयले आफुहरु वारम्वार पूर्वमेयर र वहालवाला मेयरकहाँ गएर समस्या राख्दा आश्वासनमात्रै दिइने गरेको बताए ।
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै आकाशे पुल निर्माण गर्ने भनेर खनेको खाल्डो अहिले जोखिमपूर्ण बनेको र डम्पिङ साइटको रुपमा प्रयोग भइरहेको उनले बताए ।
जोगबनीदेखि धरानसम्मै सवारी साधनको बढी चाप हुने गर्छ । त्यही सडकको बरगाछीमा पनि आकाशे पुल निमार्ण हुने भनिएको हो । ‘आकासको फल आँखा तरी मर भनेझैँ भयो’ स्थानीय बबिता साहले भनिन् । निर्माण गरे दैनिक हुने दुर्घटना कम हुने तर यसतर्फ ध्यान नगएको उनको भनाइ छ ।
स्थानीय राजेश मण्डल बरगाछीमा आकाशे पुल निर्माण हुन लागेको सुन्दा खुसी भएका थिए । तर घोषणा गरेर शिलान्यास पनि गरिसकेको योजना अघि नबढ्दा भने उनी निरास भएका छन् ।
निर्माण हुन नसक्नुमा उनले राजनीतिक किचलोलाई दोष दिएका छन् ।सरकार परिवर्तन भएसँगै योजना परिवर्तन हुने हुदा पुराना योजनाहरुको बिचल्ली हुने गरेको उनको बुझाई छ ।
विराटनगर महानगर योजना महाशाखा प्रमुख भरतकुमार न्यौपानेका अनुसार महानगरले राजमार्गमा पैदल यात्रीलाई सहज हुने उद्देश्यका साथ महानगरका कञ्चवारी, बरगाछी र बस पार्कनजिक आकाशे पुल निर्माणको योजना अगाडि सारेको हो ।
त्यसका लागि डिजाइन, अध्ययन गर्न प्रविधिक टोली खटाएर, परामर्शदाताहरु राखेर टेन्डर आह्वान गर्नु अगावै स्थानीय, वडा अध्यक्ष, उपप्रमुख र प्रमुखबाट स्वीकृत भएको योजना बताए ।
महानगरले बनाउन लागेको आकाशे पूल विशुद्ध सार्वजनिक सडकको जग्गा रहेकोले आफूहरुले काम गर्न ५ लाख विनियोजन समेत गरेको उनले बताए ।
महानगर प्रमुख नागेश कोइरालाले आकाशे पूलको आशा जिवितै रहेको बताए । मुख्य ३ कारण खुलाउँदै मेयर कोइरालाले अदालतको आदेश आएपछि विराटनगरको वडा ४ मा एउटा र अन्य दुईको लागतलाई सिंघिया खोलामा पैदल यात्रुका लागि पुल निर्माण गर्ने बताए ।
घाँस चोकमा प्रदेश सरकारले अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएकाले २ वटा आकाशे पुल राजमार्गमा पर्याप्त हुने उनले बताए ।
उच्च अदालत विराटनगरका अनुसार प्राविधिक टोली माघ २६ गते स्थलगत अध्ययनका लागि जाने टुंगो भएको छ । अध्ययनको प्रतिवेदन बुझेर रिट खारेज हुने वा थप प्रक्रिया अघि बढ्ने टुंगो लाग्ने जनाइएको छ ।