नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनाधिकृत संरचना हटाएको हो । कोशी अस्पतालले सटरको नक्सा पास गरेको थिएन ।
महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको थिएन । विराटनगरलाई यथास्थितिमा राख्न नदिने मेयर कोइरालाको प्रतिबद्धतालाई कार्यान्वयनका लागि आफूहरूले योजनाबद्ध रुपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।“विराटनगरलाई सफा, सुन्दर व्यवस्थित र विकसित बनाउने मेयर सा’बको योजनालाई हामी कर्मचारीको तहबाट कार्यान्वयन गरिरहेका छौं,” कोइरालाले भने, “महानगरको अभियानमा सबैतिरबाट अत्यन्तै राम्रो साथ र सहयोग पाएका छौं ।”
उनले महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास नगरेको बताए । त्यस्तै ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको तथ्यांक आफूहरूसित रहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।अभियानमा सहभागी महानगरका प्रवक्ता सन्तोष न्यौपानेले सूचना दिएर नियमविपरीत निर्माण गरिएका संरचना हटाइएको प्रस्ट्याए । उनले महानगरवासीबाट अत्यन्तै सकारात्मक सहयोग र प्रतिक्रिया प्राप्त भइरहेको उल्लेख गरे । महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ ।
भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । उनले महानगरले २ पटक पत्र काटेर नक्सा पास गर्न र बहाल कर तिर्न आउन आग्रह गर्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि डोजर चलाउनु परेको दाबी गरे ।
सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानप्रति स्थानीयले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । महानगरले सुरु गरेको अभियानलाई सबै वडामा पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।
स्थानीय युवा मोहम्मद रसिस खानले एउटा वडालाई मात्रै राम्रो बनाउन नभएर १९ वटै वडालाई राम्रो र व्यवस्थित बनाउन अभियान चलाउन महानगरलाई सुझाव दिए । “महानगरको यो अभियान अत्यन्तै राम्रो छ । तर यो अभियानलाई १९ वटै वडामा पु¥याउनुपर्छ,” खानले भने, “सबैतिर समान किसिमबाट काम भयो भने अभियानमा महानगरवासीको साथ रहन्छ ।”
प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन महानगरले अभियान सुरु गरेको छ । कोशी अस्पतालले निर्माण गरेको संरचना हटाउन सरसफाई शाखा प्रमुख पुनम दाहाल, महाननगर प्रहरीका प्रमुख राजन पौडेलसहितका कर्मचारी डोजर लिएर पुगेका थिए । रुखका हाँगा र अनाधिकृत संरचना हटाउन थालेपछि स्थानीयले ताली बजाएर महानगरको टोलीलाई हौस्याएका थिए । डोजरले लडाएको रुखका हाँगा महानगर प्रहरीले काटेर तत्कालै हटाएको थियो ।