काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि सोही अनुसार नेपालमा मूल्य नघटेकाले तत्काल मूल्य घटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुनेगरी मूल्य मूल्य कटौती गर्न वाणिज्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताए ।

आम उपभोक्तालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको भनाइ छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि निगमले इन्डियन कर्पोरेसन (आईओसी) लाई तेल खरिद गरेको बक्यौता रकम र ऋण देखाएर मूल्य घटाएको छैन ।

लगातार मूल्य घट्दा स्थानीय बजारमा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेको भन्दै त्यसको विरोध हुँदै आएको छ । तर निगमले भने बक्यौता र ऋण व्यस्थापन गर्न कठिन रहेकाले मूल्य यथावत् राखेको जनाएको छ ।

असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै आएको छ तर घाटा देखाएर निगमले स्थानीय बजारमा मूल्य घटाएको थिएन ।

21
Shares
२२ पुष २०७९, शुक्रबार १२:३२