विराटनगर । झापाका स्थानीय तहका अधिकांश जनप्रतिनिधिले निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् ।

सामान्यतया निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा गरेको खर्चको बिवरण आयोगमा बुझाउनु पर्ने प्रावधान छ ।

३० दिनमा बिवरण नबुझाए स्पष्टिकरणसहित ७ दिन भित्रमा खर्च बिवरण बुझाउनुपर्ने प्रावधान छ ।

मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखले निर्वाचन खर्च नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कनकाई, दमक, गौरादह र भद्रपुर नगरपालिकाका प्रमुख तथा उपप्रमुखले तोकिएको समयमा नै निर्वाचन खर्च बिवरण बुझाएका छन् ।

कचनकवल, झापा र कमल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले समयभित्र निर्वाचन खर्चको बिवरण बुझाएका छन् ।

गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपानेले खर्च बिवरण बुझाएको पाइएको छ । सोही गाउँपालिकाका अध्यक्ष फुलवती राजबंशी भने कारवाहीको दायरामा परेकी छन् ।

झापाको बाह्रदशी, बुद्धशान्ति र हल्दीवारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाट समेत जनही ३ लाख ५० हजार रुपैंयाँ असुल गर्न निर्वाचन कार्यालयले पत्राचार गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रवक्ता प्रेम न्यौपानेले जानकारी दिए ।

निर्वाचन आयोगले तोकेको समयसिमाभित्र निर्वाचन खर्च बिवरण बुझाउन आलटाल गर्ने स्थानीय तहका उम्मेद्वारलाई आयोगले कारवाहीको प्रक्रिया अघि बढाएको छ।

63
Shares
२० पुष २०७९, बुधबार १६:१९