पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट आफ्नो व्यवसायीक फुटबल करिअर सुरु गरेका उनले सुरुवाती दिनमा जर्सि नं २८ लगाउने गर्थे तर त्यसयता तीन फरक क्लबबाट खेलिसकेका उनको रोजाइमा जर्सि नं सात नै रहेको छ ।
सन् २००३ मा जर्सि नं ७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट डेब्यू गरे यता उनी अधिकाशं समय सोही जोर्सिमा मैदानमा देखा परेका छन् ।२००९ मा स्पेनिस क्लब रियल मड्रिड पुग्दा एक सिजन जर्सि नं ९ मा देखिए पनि उनले त्यसयता जर्सि नं सात छाड्न परेको छैन ।
रियलबाट युभेन्ट्स हुँदै पुनः युनाइडेट फर्कदा समेत रोनाल्डोले रोजाइको सात नम्बर अंकित जर्सि नै लगाएका थिए ।पछिल्लो समयमा एसियाली राष्ट्र साउदी अरेबियाका क्लब अल नासरमा अनुबन्धित भएका उनले नासरमा पनि जर्सि नं सात नै लगाउने भएका छन् ।
क्लबले रोनाल्डोलाई मंगलबार (हिजो) सात नं अंकित जर्सिसहित नासरको नयाँ खेलाडीको रुपमा औपचारिक रुपमा रोनाल्डोलाई सार्वजनिक गरिसकेको छ ।
रोनाल्डोभन्दा अघि नासरमा उज्वेकिस्तानका लेफ्ट विंगर जलोलिद्दिन माशारिपोशले जर्सि नं सात लगाउने गर्थे । उनी उज्वेकिस्तानको एफसी पाख्ताकोरबाट अल नासरमा अनुबन्धित भएका थिए । तर डेब्यू सिजन नै उनी दुबईको क्लब शबाब अल अहलीमा लोनमा पुगेका थिए ।
लोन अवधि पूरा भएर नासर फर्किएका उनले जर्सि नं सात लगाएर खेल्दै आएका थिए । तर रोनाल्डो नासरमा अनुबन्धित भएसँगै उनले अब जर्सि नं ७७ लगाउने भएका छन् । सेप्टेम्बरसम्म जर्सि नं सातमा देखिएका उनी १४ डिसेम्बरमा ७७ नं जर्सिमा प्रशिक्षण गर्दै गरेको देखिएका थिए । त्यसयता नासरबाट खेलेका सबै खेलमा उनले जर्सि नं ७७ लगाएका छन् ।
क्लबमा रोनाल्डाको आगमन भएपछि जर्सि नं सात छाड्ने माशारिपोश मात्रै एक्लो खेलाडी होइनन् । यसअघि रोनाल्डोका कारण युनाइडेटमा काभानी र युभेन्ट्समा जुआन कुआड्राडोले आफूले प्रयोग गरिरहेको जर्सि नं सात छाडेका थिए ।