विराटनगर । प्रदेश १ को सरकार गठन गर्ने तयारी भइरहँदा मन्त्री बन्न चाहनेहरुको संख्या निकै पाइएको छ ।

केन्द्रीय सरकार गठनअघि भएको नयाँ दलीय गठबन्धनमा आबद्ध दलहरुका नेता मन्त्रीका आकांक्षी देखिएका छन् ।

प्रदेश १ मा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको तयारी भइरहेको छ ।

सरकारको नेतृत्वमा प्रदेशकै ठूलो दल बनेको एमाले र तेस्रो स्थानमा रहेको माओवादी केन्द्र दुवैले दाबी गरिरहेका छन् ।

प्रदेश १ मा एमालेका ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको एक जना प्रदेश सांसद छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आइतबारसम्म म्याद दिइ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

प्रदेश सरकार एमालेको नेतृत्वमा भए हिक्मतकुमार कार्की मुख्य मन्त्री बन्नेछन् । उनी पार्टीको संसदीय दल नेता चयन भइसकेका छन् ।

माओवादीले नेतृत्वको अवसर पाए संसदीय दलका नेता इन्द्रबहादुर आङबोले मुख्य जिम्मेवारी पाउनेछन् ।

मन्त्रीका लागि आकांक्षीमा एमालेका बुद्धिकुमार राजभण्डारी, संविधानसभा सदस्य रेवतीरमण भण्डारी, पाँचकर्ण राई, तीलकुमार मेन्याङ्बो, रामबहादुर मगर, निरन राई, इन्द्रमणि पराजुली, लिलाबल्लभ अधिकारी, खडगबहादुर बस्नेत, जयप्रकाश चौधरीलगायत आकांक्षी देखिएका छन् ।

माओवादी केन्द्रमा मन्त्रीको आकांक्षीमा दुर्गाप्रसाद चापागाईं, नारायणबहादुर मगर, राजेन्द्र कार्की, गणेशप्रसाद उप्रेती र जीवन आचार्य, गीता तिम्सिनालगायत रहेको पार्टी स्रोतले जनाएको छ ।

राप्रपाका नेता भक्तिप्रसाद सिटौला, सबिना बजगाईं, अम्बरबहादुर बिष्टलगायत पनि मन्त्रीका आकांक्षी देखिएका छन् ।

63
Shares
२० पुष २०७९, बुधबार १०:५८