काठमाडौँ । राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण बन्द गरेको छ । विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य बन्द गरिएको हो ।

समस्या समाधानका लागि प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्को सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाको भनाइ छ ।

पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको जनाइएको छ । त्यही कारण राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको हो ।

नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्थाबारे जानकारी लिएका थिए ।

7
Shares
१९ पुष २०७९, मंगलवार १७:०६