फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाको पनि सहभागिता रहनेछ ।
पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । पेलेले ब्राजिललाई तीन पटक विश्व कप फुटबलको उपाधि दिलाएका थिए ।विश्व फुटबलका लेजेन्ड पेलेलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन् ।
अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो ।तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका छन् । ३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरुले दुई घन्टाभन्दा बढी लाइनमा बसेर पेलेलाई श्रद्धाञ्जलि अर्पण गरेको रोयटर्सले जनाएको छ ।
ब्राजिलको सानो सहर सान्तोसको जनसंख्या करिब चार लाख ३० हजार छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए।
पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । उनले पेले शाश्वत भएको भन्दै फिफाले पनि पेले प्रति उच्च सम्मान गर्ने जानकारी दिए ।