हिजो (सोमबार) पनि सचिवहरुसँग सामूहिक छलफल गरेका प्रधानमन्त्री दाहालले आज पनि छलफल गर्ने र सचिवहरुलाई आवश्यक निर्देशन दिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
आज बिहान ११ बजेपछि सचिवहरुसँग छलफल सुरु हुने छ । सचिवहरुले कार्यविवरण प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री दाहालले निर्देशनात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको मल्लेले बताए। भाषणभन्दा कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै आएका प्रधानमन्त्री दाहालले प्रशासनिक समस्या पहिचानको प्रयास थालेका हुन् ।पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालले पहिलोपटक सबै मन्त्रालयका सचिवहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हिजो साढे २ घण्टासम्म भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयका आयोजना, भइरहेका काम र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
सचिवहरुका भनाइ सुनेपछि प्रधानमन्त्री दाहालले सकेसम्म समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालले सुशासन, नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने घोषणा गरेका थिए ।राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउनु पर्ने प्रधानमन्त्री दाहालको जोड छ ।