रोजगारीका लागि उक्त नगरपालिकाका नौजना हरियाणा गएका थिए । तीमध्ये पाँचजना भागेर फर्किएका छन् । चारजनाको अवस्था भने अज्ञात छ । उनीहरुका परिवार चिन्तामा छन् ।
तीन महिनाअघि उनहिरु हरियाणा गएका थिए । सुनबर्षीका १७ वर्षका साइला टुडु, २३ का राजकुमार टुडु, २४ वर्षका विनोदकुमार राजवंशी, २२ वर्षका महेश हेमरन बेपत्ता भएका छन् ।३१ वर्षका बुद्धिमान टुडु उसको भाइ २३ वर्षका बुद्राई टुडु मिलबाट भागेर गाउँ आइपुगेका थिए । उनीहरु आएपछि आफ्नो भाइको खोजीमा गएका महेशका दाइ सक्कलले २० वर्षका संजयकुमार टुडु, १६ वर्षका विक्रम सोरेन र २८ वर्षका मोहन वास्कीसहित नजिकै अर्को गाउँका ५ जना युवालाई फर्काएर ल्याएका थिए ।
आफ्नो भाइसहित चारजना भने सम्पर्कविहीन रहेको उनले बताए ।उनीहरुलाई सेलर मिलमा धान सुकाउने र उठाउने कामका लागि भनेर लगिएको थियो । ठेकेदारहरुले भारतीय रुपैयाँ प्रति बोरा १० रुपैयाँ पाइन्छ भनेर लगेको बताउँदै, बुद्धिमानले तर काम थालेपछि भने प्रतिबोरा ६ रुपैयाँ मात्र दिने भनिएको बताए ।
बेपत्ताका परिवारले उनीहलाई लैजाने सुरेन शर्मा र लुखिराम वाक्सीविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएका छन् ।
गाउँका युवाहरुलाई पैसाको लोभ देखाएर भारत पुर्याएर बेपत्ता बनाएको पीडित परिवारले आरोप लगाएका छन् ।
भागेर आएका बुद्राई टुडुका अनुसार राति १२/१ बजेसम्म काम गर्नु पर्थो । बिहान चिया, बिहान ११ बजे खाना र राती ११ बजे मात्रै खाना पाइने उनको भनाइ छ ।
धान सुकाउने, उठाउने गरी प्रति बोरा भारतीय रुपैयाँ १० दिने भनेर लगे पनि केही दिनपछि ६ रुपैयाँ मात्रै दिइने मिलका कर्मचारीले बताएका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपानेले बेपत्ता सम्बन्धमा मोरङको अमरदह र झापा चन्द्रगढीका व्यक्तिविरुद्ध उजुरी परेको छ । घटनाबारे छानबिन गर्ने तयारी भइरहेको उनले बताए ।