काठमाडौं । निर्माण कम्पनीको लापरबाहीले निर्माणको काम अलपत्र परेपछि खोटाङ–गाईघाट–दिक्तेल (सगरमाथा) लोकमार्ग अन्तर्गतका दुई प्याकेजको ठेक्का रद्द गरिएको छ ।

खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का रद्द गरिएको हो ।

गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार खोटाङको फोक्सिङटार–सिम्पानी २६ किलोमिटर कालोपत्रेको जिम्मेवारी लिएको निर्माण कम्पनी देवनारायण पवन, मैनाचुली, खाम्पाचे जेभीसँग ठेक्का तोडिएको हो ।

करिब ५५ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ साउन १० भित्र सक्ने गरी २०७३ साउन ११ मा सम्झौता गरे पनि अपूरै राखेकाले ठेक्का तोडिएको उनले बताए ।

त्यस्तै, उदयपुरको अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पनि तोडिएको छ । मैनाचुली–सिद्धिसाई प्रकाश जेभीले करिब ११ करोड १७ लाखको लागतमा २०७८ चैत २८ मा सक्ने गरी २०७५ भदौ १४ मा सम्झौता गरेको थियो । पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले जनाए ।

गाईघाट–दिक्तेल सडकअन्तर्गतकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकमा पनि ढिलासुस्ती छ । करिब ४६ करोड ८७ रुपैयाँको लागतमा २०७७ असार २९ गते सक्ने गरी २०७३ असार २० मा सम्झौता भएको थियो ।

98
Shares
१८ पुष २०७९, सोमबार १७:३८