प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा अध्यक्ष नेपालले एकीकृत समाजवादी सरकारमा सहभागी हुन नसक्ने स्पष्ट पारेका हुन् ।
आज सोमबार पार्टी कार्यालय आलोकनगरमा सुरु भएको पोलिटब्युरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने उल्लेख गरे ।अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामू लत्रिने पक्षमा नरहेको बताए ।
‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौं ।’ बैठकलाई सम्बोधन गर्दै उनले थपे, ‘हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । त्यसो हुनाले यिनै सोच र मान्यताको आधारमा हामी अगाडि बढनेछौं ।’मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा नरहेको उनको भनाइ थियो ।
अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै उनले कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न निर्देशन दिए ।
आजदेखि सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा आ–आफ्नो धारणा राख्ने एजेण्डासमेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । त्यसैगरी बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने पार्टीले जनाएको छ ।