विराटनगर । चिसोबाट बच्न कोइला बालेर सुतेका तीनजना नेपालीको भारतको मेरठमा निसास्सिएर मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका सदस्य छन् ।

कोइलाको धुवाँले निसास्सिएर चा वर्षीया छोरीसहित दम्पतीको सोमबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रीमती ३४ वर्षीया राधा र छोरी अञ्जलीको मृत्यु भएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।

नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि मृत्यु भएको जनाइएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।
77
Shares
१८ पुष २०७९, सोमबार १६:१०