काठमाडौं । संसद्मा ठुलो दल भएर पनि सत्ताबाट विमुख भएपछि नेपाली कांग्रेसमा विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षीय दुवै समूहले पुस २२ मा सुरु हुने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भनेर तयारी गरिरहेका छन् । केन्द्रीय समिति बैठकमा सभापति देउवाको राजीनामादेखि विधान महाधिवेशनसम्मको माग उठ्ने भएको छ ।

पार्टी एकाएक सत्ताबाट बाहिरिनु परेपछि शेखर कोइराला पक्ष आक्रामक बन्दा संस्थापन पक्ष रक्षात्मक देखिएको छ । गठबन्धन टुटेको विषयलाई लिएर आरोप प्रत्यारोप गरिरहेका कांग्रेसका नेताहरू पुस २२ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा आमनेसामने हुनेछन् ।

निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक अवस्थालाई मात्र छलफलको विषय बनाइए पनि उक्त बैठकमा चुनावअघिको गठबन्धनको औचित्य र विधान अधिवेशनबारे पनि छलफल हुने छ । चुनावअघिको गठबन्धनको औचित्य के ? ठुलो दल भएर पनि पार्टी किन प्रतिपक्षमा पुग्यो ? शेखर समूहले सभापतिसँग यसको जवाफ माग्ने निश्चित छ ।

रक्षात्मक अवस्थामा पुगेको संस्थापन पक्षले भने सत्ता गुम्नुमा सभापतिसँगै पदाधिकारी पनि दोषी रहेको बताउँदै आएको छ । शेखर समूहले भन्दै आएको विधान महाधिवेशनप्रति पनि संस्थापन पक्ष सकारात्मक छैन ।

गत वर्ष सम्पन्न १४ औँ महाधिवेशनबाट नेतृत्व चयन गरियो तर, पार्टीको नीतिबारे छलफल नै भएन । नीति महाधिवेशनबारे कांग्रेसको विधानमा उल्लेख नभए पनि महाधिवेशनको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएको थियो । त्यसयता पार्टीमा यसबारे कुनै छलफल भएको छैन । विधानमा नीति अधिवेशनका प्रतिनिधि को हुने समेत उल्लेख छैन । विधानमा प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था भए पनि पालना गरिएको छैन ।
28
Shares
१८ पुष २०७९, सोमबार १०:२०