विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले आइतबार करिब तीन सय किलो गाँजा बरामद गरेको छ । दुईजना पक्राउ परेका छन् ।

रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो ४ः३० बजेतिर गाँजा फेला परेको हो ।

१५ वटा बोरामा हालेर लुकाएको अवस्थामा बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि साँझ विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशीसहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरिएको एसपी शान्तिराज कोइरालाले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट धनकुटादेखि राईले लागूऔषध गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ ।

उनीहरु दुबै जना गाँजाको कारोबार एवं तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

21
Shares
१७ पुष २०७९, आईतवार १९:५३