पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले लिग च्याम्पियन मछिन्द्रलाई ३-१ गोलले पन्छाउँदै सेमिफाइनल यात्रा तय गरहेको हो । मछिन्द्र फुटबल क्लब भने गोल्डकपबाट बिदा लिएको छ ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । आशिष चौधरीको नाममा एक गोल रह्यो । मछिन्द्रका सौरभ सुब्बाले एक गोल फर्काए । खेलको २३औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता २-० को बनाए । खेलको ६६औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९औं मिनेटमा मछिन्द्रका सौरभले गोल गरेपनि चर्च ब्वाइज ३-१ ले विजयी भयो । प्रतियोगितामा भोलि (सोमबार) तेस्रो क्वार्टरफाइनल खेलअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच हुनेछ ।