विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश सरकार गठनमा एमालेले आफूहरुलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

दोस्रो प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता आङ्बोले एमालेले अघिल्लो पटक माओवादीले गरेको सहयोगबापत यस पटक सरकारको दाबी छाड्नु पर्नेतर्फ इंगित गरे ।

पहिलो प्रदेशसभामा एमालेको सरकार गठन गर्न आफूहरुले भूमिका खेलेको स्मरण गर्दै उनले यसपटक एमालेले सहयोग गर्नेमा आशावादी रहेको बताएका छन् ।

‘गठबन्धनको निर्णय मान्य हुन्छ । केन्द्रीय निर्णय सर्वमान्य हुन्छ तर यस पटक एमालेले माओवादीलाई सहयोग गर्नुपर्छ’ नेता आङ्बोले थपे, ‘अघिल्लो पटक हामी सहयोगी दलमा रहँदा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख सबै एमालेको नै हुनुहुन्थ्यो । त्यसैले यस पटक वहाँहरुको सहयोगमा नेतृत्व माओवादीको हुनुपर्छ भन्ने हाम्रो दाबी हो । सोही अनुसार निर्णय गरेर पार्टीमा राखेका पनि छौँ ।’

सत्ता साझेदार एमालेको सरकारको दाबीलाई आफूहरुले स्वभाविक रुपमा लिएको पनि आङ्बोले बताएका छन् ।

प्रदेश १ सरकार गठनका लागि आफूहरुले औपचारिक छलफल सुरु गर्ने र सरकारको गठनको प्रकृया सुरु गर्ने उनले बताए ।

प्रदेश १ का प्रमखु परशुराम खापुङले पुस २४ गते साँझ ५ बजेसम्म सरकारको गठनका लागि आव्हान गरिसकेका छन् ।

21
Shares
१७ पुष २०७९, आईतवार १५:५८