विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता देखाएका छन् ।

मेयर कोइरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र विराटनगर–५ स्थित हुलाकी सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल गराएका छन् ।

केही हप्ताअघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दबाब दिएका थिए ।

उनले आफू जनताको प्रतिनिधि भएकाले जनताले दुःख र सास्ती पाएको हेर्न नसक्ने बताए । उनले हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भाग्दा स्थानीय जनताले दुःख पाएको बताए ।

हुलाकी सडक कार्यालयका प्रमुख थापाले ठेकेदार सम्पर्कविहीन भएकाले ठेक्का रद्दको प्रक्रियामा गइसकेको जानकारी दिए ।

उनले एकैपटक ठेक्का तोड्न ऐनले नदिने भएकाले प्रक्रियागत रुपमा कार्यालय गइसकेको जानकारी दिए । प्रमुख थापाले ठेकेदारलाई सम्पर्कमा आउन र नआए ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरिसकेको बताए ।

अब छिट्टै अर्को टेण्डर आह्वान गरेर हुलाकी सडक निर्माणलाई गति दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । स्थानीयले सडकका कारण आफूहरुले धेरै सास्ती पाएको गुनासो पोखेका थिए ।

42
Shares
१६ पुष २०७९, शनिबार २०:०६