विराटनगर । मोरङका विभिन्न स्थानबाट शुक्रबार राति प्रहरीले तस्करीका सामान बरामद गरेको छ । तस्करीमा संलग्न ३ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१८ खोक्साहाबाट प्रहरीले सुन राख्ने बट्टा तस्करीमा संलग्नलाई पक्राउ गरेको हो । बट्टा तस्करीमा संलग्न विराटनगर–१७ का ३० वर्षीय मस्जित आलम, २० वर्षीय मोहमद अरवाज र १८ का २१ वर्षीय रहमद मियाँ पक्राउ परेका छन् ।

भारतबाट बोरामा प्याक गरेर ल्याउँदै गरेको सुन राख्ने खाली बट्टासहित उनीहरुलाई अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार विभिन्न आकारका ९ सय ७२ वटा सुन राख्ने खाली बट्टा बरामद भएको छ । बरामद गरिएको बट्टा १ लाख ६२ हजार मूल्य बराबरको रहेको उनले बताए ।

त्यस्तै प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया, धनपालथान–३ मायागञ्ज, विराटनगर–१६ दरैया र विराटनगर–१५ हुलास मेटल चोकबाट पनि तस्करीका सामान बरामद गरेको छ । भन्सार छली गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा चिनी, मोटर पार्टस्, बिजुलीका सामान, लत्ताकपडा, खैनीलगायतका सामान बरामद गरिएको डीएसपी कार्कीले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको अलगअलग टोलीले अवैध सामान बरामद गरेको हो । बरामद गरिएको सामान ४ लाख ८५ हजार ३ सय रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । सामान र पक्राउ परेकाहरुलाई प्रहरीले अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
70
Shares
१६ पुष २०७९, शनिबार १९:५४