विराटनगर । मोरङको बेलबारीमा भएको आक्रमणको घटनाबारे अदालतले गरेको फैसलाप्रति पीडित परिवारले असन्तुष्टि जनाएको छ । परिवारजनले आफूहरुले अदालतबाट पनि न्याय पाउन नसकेको भन्दै गुनासो गरेका छन् ।

बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको घटनासँग सम्बन्धित मुद्दा अदालतले अढाई वर्षपछि अदालतले टुंग्याएको छ । मोरङ जिल्ला अदालतले बिहीबार मुद्दाको अन्तिम किनारा लगाएको हो ।

२०७७ भदौ १२ गते आक्रमणमा परेर बेलबारी–५ का ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो । धारिलो हतियार प्रहारबाट सिकिस्त भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो । चन्द्रकुमारका दाजु सहीकुमार, भाइ समुन्द्रराज र भतिज (सहीकुमारका छोरा) गौरव घाइते भएका थिए ।

घटनामा संलग्न भएको अभियोगमा २० जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको थियो ।

न्यायाधीश राजेशकुमार कटुवालको इजलासले घटनाका मुख्य योजनाकार बेलबारीका विनयकुमार सरदार, विशालकुमार खवास, ग्रामथान गाउँपालिकाका वीरेन्द्रकुमार खाँ, दिपेन भनिने दीपेन्द्र चौधरी, राजेन्द्र राई (थुलुङ) र के के भनिने कृष्णकुमार चौधरीसमेत ६ जनालाई कसुरदार ठहर गरेको छ ।

इजलासले बेलबारी–५ का विनयलाई कर्तव्य ज्यानतर्फ जन्मकैद (२५ वर्ष) र ज्यान मार्ने उद्योगतर्फ ३ वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

अदालतले विनयबाट मृतकका परिवारलाई क्षतिपूर्तिवापत १ लाख रूपैयाँ भराउने फैसला पनि गरेको छ । घाइतेमध्ये समुन्द्रराज राईको उपचार खर्चवापत ३ लाख ७० हजार ४ सय ८ रूपैयाँ पनि तिराउने फैसला भएको छ ।

अभियुक्तमध्ये ५ जनालाई मतियारका रूपमा कसुरदार ठहर गर्दै जहनी २ वर्ष कैद सजायको फैसला भएको छ । अदालतले घटनामा संलग्न भनिएकामध्ये ९ जनालाई भने सफाई दिएको छ ।

अभियुक्तहरु जितेन्द्रकुमार चौधरी, ञानु भनिने ञानव थुलुङ राई, अनोज भनिने अनोदकुमार माझी, ओम धामी, प्रेम चौधरी, बलराम चौधरी, कचालु गीतार खवास भनिने यक्षकुमार चौधरी, राजिन राई र नलिन खवास भनिने नलिनलाल गच्छदारले सफाई पाएका छन् ।

फरार रहेका भनिएका अभियुक्तहरु प्रभात चौधरी, मायालु भनिने दिनेश चौधरी माझी, अशोक खवास, शम्भु भनिने दिनेश मास्के र दीपु खवाससमेत ५ जनाको मुद्दा भने मुल्तवीमा राखिएको छ ।

अदालतले पुस ४ गते नै अभियुक्तमध्ये ६ जनालाई कसुदार ठहर गर्दै ९ जनालाई सफाई दिएको थियो । सजाय निर्धारण भने अदालतले बिहीबारमात्र गरिएको हो ।

मृतक चन्द्रकुमारका दाजु धनकुमार राईको जाहेरीले प्रतिवादीविरुद्ध मुद्दा चलेको थियो । धनकुमारले विराटनगरमा पत्रकार सम्मेलन गरी फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

एकजनालाई मात्रै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरिएको भन्दै उनले अरुलाई उन्मुक्ति दिइर चोख्याउने काम भएको बताए । ‘हामीले अदालतबाट पनि न्याय पाउन सकेनौं’ उनले भने ।

धनकुमारले कानुनी व्यवस्था अनुसार मोरङ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरिने बताए ।

28
Shares
१५ पुष २०७९, शुक्रबार १५:४७