विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अटिजम भएका बालबालिकाको उपचारसहित संरक्षणमा महानगर गम्भीर रहेको बताएका छन् ।

विराटनगरस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरको चौथो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलसित सहकार्य गर्न महानगर तयार रहेको समेत उल्लेख गरेका हुन् ।

अटिजम भएका बालबालिकाहरुको तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले अनमोल एजुकेशनलले अटिजम भएका बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताइन् ।

अनमोलले थेरापीलगायतका माध्यमबाट अटिजम भएका बालबालिकाहरुको उपचार गर्दै आएको आयोजक संस्थाकी निर्देशक अर्चना रिमालले बताइन् । जन्मेको १८ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई अटिजम हुने गरेको छ ।

अहिलेसम्म अटिजम हुनुको कारण पत्ता नलागे पनि मुख्य गरी खानपान र वातावरणका कारण हुनसक्ने संस्थापक प्रिन्सिपल संगीता न्यौपानेले जानकारी दिइन् ।

अनमोलमा हालसम्म १२५ जनाले लाभ लिइसकेका छन् । हाल ५० जनाभन्दा बढीलाई अनमोलले सेवा दिइरहेको छ । न्यौपानेका अनुसार २० जना सामान्य विद्यालयमा अध्ययन गर्न पठाइसकिएको छ ।

डा. हेमसागर रिमालले अटिजम भएका बालबालिकाको उपचारका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले महानगरपालिकासित सहकार्य गरेर उनीहरुको उपचारसहित रेखदेख र संरक्षणका लागि छुट्टै विद्यालय खोल्न सकिने उल्लेख गरे ।

अटिजम भन्नाले एउटा मस्तिष्कको विशेष अवस्था मानिन्छ । चिकित्सकहरुका अनुसार यो एक किसिमको जन्मजात विशेष अवस्था हो ।

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप, र सिकाइको क्षमता कम हुन्छ ।

अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ भनिन्छ ।

7
Shares
१५ पुष २०७९, शुक्रबार १४:४५