भारत सरकारले गत कात्तिक १५ गतेदेखि नेपालको लागि धानको निर्यात खुला गरेको थियो ।
धानको आयातमा आएको सहजतासँगै कात्तिक १५ गतेदेखि मंसिर मसान्तसम्म ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार रुपिया बराबरको ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालका लागि निर्यात खुला गरेपछि अहिले नेपाली व्यापारीहरुले भारतबाट धमाधम धान आयात गरिरहेका छन् ।
नेपालकै प्रमुख भन्सार नाका वीरगन्जस्थित एकिकृत भन्सार जाँच चौकी (आईसिपि) को यार्डमा आँखाले देख्नसक्ने जति ठाउँ अहिले धान बोकेको मालबाहक सवारीका साधनले ओगटेका छन् ।दिनहुँ भारतबाट धान बोकेर नेपाल भित्रिएका मालवाहक सवारीका साधनहरु भन्सार परिसरमा राखिएको छ ।
नेपाल सरकारको पहल र व्यवसायीहरूको अनुरोधमा भारत सरकारले कात्तिक १५ गतेदेखि धानमा लगाएको प्रतिबन्ध हटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले बताएका छन् ।
‘भारत सरकारले आन्तरिक उत्पादन घटेको र मुलुकभित्रै खपत बढी भएकाले नेपालमा धान निर्यात रोकेको थियो, हाम्रो माग १६ लाख मेट्रिक टन धान शून्य भन्सार शुल्कमा नेपालका लागि छोडिदिनुपर्छ भन्ने हो तर अहिले भारत सरकारले ६ लाख मेट्रिकटन धानमा मात्रै भन्सार नलाग्ने निर्णय गरेको छ’ अध्यक्ष गुप्ताले भने ।
भारतको आफ्नै आन्तरिक खपतलाई नपुग्ने भएपछि नेपालका लागि धानको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर नेपाली व्यवसायीहरूको अनुरोध र नेपाल सरकारको पहलमा भारत सरकारले कार्तिक १५ गतेबाट प्रतिबन्ध हटाएपछि भारतबाट धानको आयात सहज भएको हो ।