विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको नेता बन्नका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।

संसदीय दलको नेताका लागि पार्टीका प्रदेश समिति सभापति रहेका उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र प्रदेश १ सरकारका मन्त्री रहेका केदार कार्कीले उम्मेदवारी दिएका हुन् ।

दलको नेताका लागि आकांक्षी रहेका विराटनगर महानगरपालिकाका पूर्व मेयर रहेका सांसद भीम पराजुलीले भने थापालाई समर्थन गरेका छन् ।

अर्यालको प्रस्तावकमा डोलमा तामाङ र सुनिताकुमारी चौधरी छन् । थापाको प्रस्तावकमा भुपेन्द्र राई र समर्थकमा भीम पराजुली छन् भने कार्कीको रामकुमार खत्री प्रस्तावक र शम्शेर राई समर्थक बसेका छन् ।

बिहीबार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्मका लागि संसदीय दलको नेताका लागि उम्मेदवारी दिने समय तोकिएको थियो ।

बिहीबारै उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम हुने कांग्रेस प्रदेश १ समितिले जनाएको छ ।

आज ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । नेता चयनका लागि शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

९३ सदस्सीय प्रदेशसभामा कांग्रेसका २९ जना सांसद छन् । तीमध्येबाट ५१ प्रतिशत मत (१५ सांसद) ल्याउने संसदीय दलको नेतामा चयन हुनेछन् ।

35
Shares
१४ पुष २०७९, बिहीबार १३:४४