काठमाडौं । पोखरा रंगशालामा आज बिहीबारदेखि २२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीच खेल हुनेछ ।

प्रतियोगितामा यसपालि १० टिमले सहभागिता जनाउँदैछन् ।

आयोजक सहारा, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब मिनेसोटा (अमेरिका), संकटा क्लब र विभागीय तीन टिम एपीएफ, आर्मी र पुलिस टिमले प्रतिस्पर्धा गर्दै छन् ।

पुस १५ मा नेपाल पुलिस र चर्च ब्वाइज, पुस १६ मा धरान र सहाराबीचको विजेतासँग एपीएफले क्वाटरफाइनल खेल्ने छ । पुस १७ मा पुलिस र चर्च ब्वाइजबीचको खेलको विजेतासँग मछिन्द्रले क्वाटरफाइनलमा भिड्ने छ ।

तेस्रो क्वाटरफाइनल खेल पुस १८ मा आर्मी र संकटा क्लबबीच हुनेछ । चौथो क्वाटरफाइनलमा पुस १९ मा मनाङ र भुटानी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुस २० र २१ मा सेमिफाइनल हुनेछ । पुस २३ मा फाइनल हुनेछ ।

गत वर्षको विजेता एपीएफ क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब थिए ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ पाउने छ । यस वर्ष अघिल्लोमा भन्दा २ लाख रुपैयाँ थप गरिएको हो । अघिल्लो वर्ष उपविजेताले ५ लाख पाउने गरेकोमा यस वर्ष ६ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

उत्कृष्ट ५ विधामा र सर्वाधिक गोलकर्ताले २५–२५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले ८ हजार र फाइनलमा १० हजार रुपैयाँ पाउने छन् ।

सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

91
Shares
१४ पुष २०७९, बिहीबार ०६:३९