विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रको नेतृत्वमा रहेको पदीय आशक्ति र आफ्नै पार्टी नेतृत्वको कमजोरीले गठबन्धन टुट्न पुगेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार संवाददाताहरुसितको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

यसबारे पुस २२ गते हुने पार्टी बैठकमा निर्मम समीक्षा गर्ने उनले जनाएका छन् ।

गठबन्धन नगरी सरकारै नबन्ने अवस्था रहेको भए पनि निर्वाचनपछि गठबन्धन गर्नुपर्ने पक्षमा सुरुमा आफूहरु रहेको कोइरालाले उल्लेख गरे ।

तर निर्वाचन अगाडि नै गठबन्धन गर्ने निर्णय भइसकेपछि त्यसलाई अगाडि बढाउने जिम्मेवारी कांग्रेसमा रहेको उनको भनाइ छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक भएको भन्दै कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पदीय आशक्ति र कांग्रेसबाट वार्ता गर्नेहरुको कमजोरीका कारण पछिल्लो अवस्था आएको बताए ।

माओवादी अध्यक्ष दाहालले गठबन्धनको मर्मलाई नस्वीकार्नु, पार्टी नेतृत्वले माओवादी केन्द्र र एमालेको चाल थाहा नपाउनुले कांग्रेस प्रतिपक्षमा पुगेको कोइरालाको भनाइ थियो ।

21
Shares
१३ पुष २०७९, बुधबार १८:४६