ट्राफिक प्रहरी पोष्ट बेलबारीले बुधबार सिटी सफारी र अन्य सवारी साधनमा ‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्ने कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले हुस्सु लाग्दा र रातको समयमा सवारी साधन राम्रोसँग नदेखिँदा दुर्घटना बढी हुने भएकोले त्यसको न्यूनीकरण गर्नका लागि ठूला, साना सवारी साधन तथा साइकलमा समेत ‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्न थालेको बताए ।‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्ने अभियान विराटनगरबाट सुरु गरिए पनि जिल्लाका सबै स्थानमा अभियानका रुपमा ट्राफिक सचेतना कार्यक्रम गर्दै स्टीर टाँस्ने उनले बताए ।
सडकको बीच भागमा रहेका डिभाइडरमा समेत टल्कने ‘रिफ्लेटिक्भ स्टीकर’ राखिएको बताए । सबै सवारी साधनमा ट्राफिक प्रहरीले टल्कने स्टीकर टाँसे पनि सवारी साधन धनी स्वयंमले यस अभियानमा सहभागिता जनाउँदै आफै पनि स्टीकर टाँस्न अनुरोध गर्दै, ट्राफिक प्रमुख कार्कीले भने, ‘जाडो मौसममा बढी दुर्घटना हुने हुँदा सवारी साधनका बत्ती र पछाडिबाट राम्रोसँग देख्ने गरी स्टीकर राख्नुपर्छ । स्टीकर टाँस्ने काम पहिले पनि गर्दै आएको भए पनि जाडो मौसम बढेसँगै पुनः यस कार्यलाई अभियानका रूपमा अघि बढाएका हौं ।’त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमालले सवारी दुर्घटना कसैले जानेर हुने नभई अन्जानमा हुनेहुँदै सबैले सजक र सतर्क भएर चलाउनु पर्ने बताए ।
उनले सबै सिटी चालक र सिटी धनीले आआफ्नो सावरी साधनको अवस्था हेर्नु पर्ने, कागजपत्र, अनुमतिपत्रका साथै बिमा गराउन अनिवार्य रहेको बताएका हुन् । चालक अनुमतिपत्र नभएकाले तुरुन्तै लिन र कागजपत्र दुरुस्त नभएका सवारीको दुरुस्त राख्न आग्रह गर्दै, उनले भने, ‘यो सवारी साधनको अवस्था ठीक राख्नु र कागजपत्र दुरुस्त ट्राफिक प्रहरीका लागि नभई स्वयम् चालक र सावरीधनीका लागि हो । हामीले त सबै ठीक ढंगबाट चलाउन आग्रह गर्नका निमित्त जरिवाना लिने हो । अर्काे पटक गल्ती नहोस् भन्नका निमित्त सचेत गराउनका लागि जरिवाना लिने गरेका हौं ।’
ट्राफिक प्रहरी पोष्ट बेलबारीका इन्चार्ज प्रहरी नायव निरीक्षक मणिराम कोइरालाको अध्यक्षता भएको कार्यक्रममा बेलबारी सिटी सफारी परिवारका अध्यक्षलगायतले बोलेका थिए ।