गगन नुनिया

विराटनगर । खेलकुद क्षेत्रमा लामो समय बिताएर योगदान गरेका दुई जनालाई विराटनगरमा सम्मान गरिएको छ । प्याब्सन विराट कप फुटबल प्रतियोगिता २०७९ को समापन समारोहका क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

समानित हुनेमा जितेन्द्रकुमार साह (जितु) र दिपेन्द्र धिमाल छन् ।

१६ वर्षेकै उमेरमा राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका जितु हाल मिल्स एरियामा सञ्चालित मिल्स गोल्डकपको ‘ग्रास रुट ट्रेनिङ सेन्टर’ का मुख्य प्रशिक्षकका रुपमा कार्यरत छन् ।

२०४५ सालमा नर ट्रफी नेशनल प्रथम, काठमाडौंमा वर्थडे कप, त्रिभुवन च्यालेन्ज शिल्ड, महेन्द्र गोल्डकप, झापा गोल्डकप खेलेका थिए ।

२०४६ सालमा नेपाल प्रहरीमा प्रबेश गरी आइजीपी शिल्ड १२ वर्ष सम्म लगातार खेलेका उनले हरदवी गोल्डकप, वीरगञ्जमा अमात्य गोल्ड कप, इलामको माइभ्याली स्मृति कप, अनारमनीगोल्डकप जस्ता प्रतियोगितामा खेलिसकेका छन् ।

यसैगरी नेपाल र भारतको विभिन्न प्रतियोगितामा उनी सहभागी भएका छन् ।

जितुले २०७१ सालमा प्रहरी ट्रेनिङ सेन्टरमा स्पोर्टस एडभान्स तालिम लिएका थिए । २०७३ सालमा एएफसीबाट फुटबल प्रशिक्षकको लाइसेन्स उनले प्राप्त गरेका थिए ।

प्रहरीमा हुँदा युएन मिसन कार्यक्रमको सिलसिलामा हाइटीमा शान्ति सेनाको रुपमा पनि उनले काम गरेका थिए ।

२०६९ साल देखि प्रदेश नम्बर १ को प्रहरी कार्यालयको फुटबल टिम प्रशिक्षक भई ५ वर्षसम्म विभिन्न प्रतियोगिता जित्न सफल हुन भएका थिए । प्रहरीबाट सेवानिवृत भएपछि मिल्स एरियामा सञ्चालित मिल्स गोल्डकपको ग्रासरुट ट्रेनिङ सेन्टरको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका हुन् ।

अर्का सम्मानित व्यक्तित्व दिपेन्द्र धिमाल १० वर्षकै कलिलो उमेरदेखि फुटबल खेल्दै आएका हुन् ।

मोरङको उर्लाबारीमा २०२५ सालमा जनमेका धिमाल मोरङ जिल्ला, कोसी अञ्चल क्षेत्रीय र राष्ट्रिय खेलाडीका रुपमा परिचित छन् ।

क्षेत्र र राष्ट्रिय स्तरका ए डिभिजनका क्लबहरु थ्री स्टार, जनकपुर चुरोट कारखानाका साथै भारतको विभिन्न क्लबहरुबाट उनले फुटबल खेलेका छन् ।

मोरङ जिल्ला फुटबल संघको एक कार्यकाल महासचिव, ३ कार्यकाल अध्यक्षको भूमिका उनले निर्वाह गरेका थिए । धिमाल हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य छन् ।

उनले महिला, पुरुष तथा उमेरगत फुटबल समूहको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेका छन् ।

उर्लाबारी फुटबल क्लबलका संस्थापक अध्यक्ष रहेका उनी फुटबलकै सिलसिलामा इरान, थाइल्याण्ड, अष्ट्रेलिया र भुटान पुगेका छन् ।

21
Shares
१२ पुष २०७९, मंगलवार ११:५६