विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ग्राहकपिच्छे मूल्य फरक लिने गरेको समेत भेटिएको छ ।
मदिरामा पनि ९० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको भेटिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए ।अनुगमनका क्रममा भान्सामा फोहोर भेटिएको, पुरानो तेल प्रयोग गरिएको, कुकहरुले केश नछोपेको लगायत कमजोरी फेला पारिएको उनले बताए ।
अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम कसुर देखिएका कारण सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ङ) अनुसार तत्काल २० हजार जरिवाना गरेको छ ।उपभोक्ताबाट एयरपोर्ट रोडमा सञ्चालित रेष्टुरेन्ट र होटलहरुले अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि अनुगमन गरिएको पौडेलले प्रस्ट्याए ।