विराटनगर । सांसदहरुले शपथग्रहण गरेलगत्तै प्रदेश १ सरकार बनाउनेबारे पार्टीहरुबीच गृहकार्य सुरु भएको छ । केन्द्रमा पार्टीहरुको समीकरण बदलिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ ।

नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले एमाले नेतृत्वमा सरकार बन्ने भनिरहेका बेला नेकपा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व लिन पाउनुपर्ने दाबी गरेको छ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको नेतृत्व माओवादीले लिन पाउनुपर्ने बताएका हुन् ।

मुलुकको सत्ता समीकरणका लागि दलहरूबीच नयाँ गठबन्धन बनेको भन्दै उनले प्रदेश १ सरकारको नेतृत्वमा माओवादीको दाबी रहने बताए ।

माओवादीले प्रदेशमा संसदीय दलको नेता चयन गरिसकेको छैन। संसदीय दलको नेताका लागि आङ्बोसहित २ जना आकांक्षी छन्।

प्रदेश १ मा माओवादीका १३ जना प्रदेश सांसद छन्।

माओवादीका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीका अनुसार पार्टी संसदीय दलको पहिलो बैठक मंगलबार बस्नेछ । बैठकबाट दलको नेता चयन गरिने उनले बताए।

प्रदेशसभामा एमालेका ४० जना प्रदेश सांसद छन्। नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद मात्रै आवश्यक पर्छ।

21
Shares
१२ पुष २०७९, मंगलवार ०७:१८