सरिता कर्मकार

विराटनगर । विराटनगर महानगरपालिका वडा ७ को ‘वडा बाल सञ्जाल’ले आयोजना गरेको वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा सत्यनारायण माध्यमिक विद्यालय विजयी भएको छ ।

वडा ७ मा रहेका ६ विद्यालय सहभागी प्रतियोगितामा आदर्श माविले द्वितीय बन्यो भने ग्रेडेड स्कूलले तेस्रो स्थान हात पारेको छ ।

बाल मन्दिर आधारभूत विद्यालयमा आयोजना प्रतियोगितामा कक्षा दशसम्मका विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितापछि एएमजी टाइम्ससँग कुरा गर्दै सत्यनारायण माविका शिक्षक केदारप्रसाद पराजुलीले हार जितभन्दा पनि यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताए ।

विराटनगर महानगरपालिका वडा नम्बर ७ ‘वडा बाल सञ्जाल’का अध्यक्ष अशोक खतिवडाले वडा कार्यालयसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए ।

यसअघि उक्त वडमा रहेका बाल सञ्जाल निस्क्रिय रहेको अवस्थामा आफूहरुले वडास्तरीय प्रतियोगिता आयोजना गर्दै बाल सञ्जाललाई सक्रिय बनाएको उनले जनाए ।

प्रतियोगिताका विजेतालाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकामा भर्खरै गठन भएको नगर बाल सञ्जालमा वडा बाल सञ्जालको प्रतिनिधित्व गर्दै सचिवमा निर्वाचित वडा नम्बर ७ वडा बाल सञ्जालका अध्यक्ष अशोक खतिवडालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।

(प्रशिक्षार्थी)

175
Shares
११ पुष २०७९, सोमबार २०:३६