विराटनगर । कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण फैलने जोखिम बढेको छ । चीनमा संक्रमित दिनहुँ बढिरहेका छन् । अर्को छिमेकी भारतमा पनि चीनबाट फर्केका केही व्यक्तिमा संक्रमण देखिएको छ ।

यस्तो अवस्थामा सीमावर्ती विराटनगर र अरु क्षेत्रमा सतर्कता बढाउनुपर्ने हो । सामान्य प्रचारबाहेक अरु सतर्कता देखिएको छैन । भारतसँगको खुला सीमाका कारण नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा छन् ।

संक्रमण फैलिएको अवस्थामा पूर्वतयारी गर्न बेलैमा ध्यान दिनुपर्नेमा त्यसो गरिएको छैन । विराटनगरमा झण्डै २९ करोड रूपैयाँ खर्चिएर बनाइएको होल्डिङ सेन्टर प्रयोगमा आएको छैन ।

विराटनगर महानगरपालिका–१६ स्थित जुट मिल्स परिसरमा बनाइएको १ हजारजना अट्ने होल्डिङ सेन्टर सञ्चालनमा आउन सकेको छैन । होल्डिङ सेन्टर रेखदेखको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका निम्ति संघीय सरकारले उपलब्ध गराएको २८ करोड ९१ लाख रुपैयाँको बजेटमा होल्डिङ सेन्टर बनाइएको थियो । कोरोनाका शंकास्पद बिरामीलाई राख्ने गरी बनाइएको सेन्टरमा २२ वटा एट्याच बाथरुम, १५ वटा भान्सा पनि छन् ।

यसैगरी सेन्टरमा २ वटा डाक्टर रुम र क्वारेन्टाइन गरी कूल ५९ वटा कोठा छन् ।

जुट मिल्सको ५ बिगाहा क्षेत्रफलमा अत्याधुनिक संरचनासहितको २२ कोठे होल्डिङ सेन्टर बनेको हो । निर्माणपछि होल्डिङ सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण पनि गरिएको छैन ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार कार्यविधि बनाएर उक्त होल्डिङ सेन्टर प्रदेश सरकारले सञ्चालन गर्ने तयारी थियो । कार्यविधि नबन्दा हाल उक्त संरचना प्रयोगविहीन अवस्थामा रहेको उनले बताए ।

कार्यविधि निमार्णको सन्दर्भमा प्रदेश १ सरकार पनि बेखबर छ । प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता सुरेश मेहताले यस विषयमा केही जानकारी नभएको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जानकारी भएको हुनसक्ने उनको भनाइ छ ।

उक्त मन्त्रालयका सचिव उमेश बस्नेत पनि आफू यस विषयमा जानकार नभएको बताउँछन् । ‘यस विषयमा स्वास्थ्य वा सामाजिक विकास मन्त्रालयलाई थाहा होला,’ उनले भने ।

28
Shares
११ पुष २०७९, सोमबार १०:०५