विराटनगर । प्रदेश १ मा नेकपा एमालेको संसदीय दलका नेतामा हिक्मतकुमार कार्की सर्वसम्मत चुनिएका छन् ।
आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य कार्कीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा उनी दलको नेता चुनिएका हुन् ।उनी झापा निर्वाचन ५ ‘क’बाट दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
बैठकमा विभिन्न दलसँग सरकार गठन लगायतका विषयमा छलफल गर्न र सहमति जुटाउन ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको जनाइएको छ ।दलको नेतामा निर्वाचित कार्कीकै संयोजकत्वमा गठित कार्यदलमा मेन्याङ्बो र भण्डारीसहित प्रदेश सांसदहरु सृजना राई र लीलाबल्लभ अधिकारी सदस्य छन् ।
दलको नेता बनेका कार्कीले संसदमा पार्टीको प्रस्तुतिलाई प्रभावकारी बनाइने उल्लेख गर्दै संसदभित्र प्रवेश गर्ने र सरकार बनाउने प्रक्रियामा अब एमालेले भाग लिने बताए ।
सकेसम्म निर्वाचनमा सहकार्य गरेका दलसँग मिलेर एमालेकै नेतृत्वमा सहमतिको सरकार बनाएर अघि बढ्ने प्रयास हुने उनको भनाइ छ ।
प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण कार्यक्रम सोमबार दिउँसो १ बजेलाई राखेको छ ।
प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङसँग बिहान ११ बजे शपथग्रहण गर्ने छन् ।
त्यसपछि मण्डलले प्रदेशसभा हलमा अन्य प्रदेशसभा सदस्यलाई शपथ खुवाउने छन् । शपथको सबै तयारी पूरा भएको संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।
९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन् ।

मंसिर ४ गतेको निर्वाचनमार्फत प्रदेश १ मा नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टी जसपाले १ सिट प्राप्त गरेका छन् ।
प्रदेशसभामा सहभागी अन्य ५ दलले भने नेता चयन गरेका छैनन् । कांग्रेसबाट अमृत अर्याल, उद्धव थापा, भीम पराजुली लगायत दलको नेताका आकांक्षी छन् ।
पार्टीका प्रदेश १ का सभापति तथा प्रदेशसभा सदस्य उद्धव थापाले संसदीय दलको बैठकमा दलको नेता चयन लगायतका विषयमा छलफल हुने बताए । त्यसपछि नेता चयनका लागि चुनावी प्रक्रियाबारे निर्णय हुनसक्ने उनको भनाइ छ ।
माओवादीले संसदीय दलको नेता शपथग्रहण पछि चयन गर्ने जनाएको छ । राप्रापा र समाजवादीले पनि शपथग्रहणपछि दलको नेता चयन गर्ने तयारी गरेको छ ।