विराटनगर । ‘क्रिसमस डे’ को उपलक्षमा इसाई धर्मावलम्बीहरुले विभिन्न चर्चहरुमा विशेष कार्यक्रम गरी मनाइरहेका छन् ।
डिसेम्बर २५ को दिन यशु ख्रिस्टको जन्म भएको अवसरमा विभिन्न कार्यक्रम गर्दै प्रत्येक वर्ष यो पर्व मनाउने गरिएको छ ।ईश्वर सारा मानव जातिको उद्धारका निम्ति आएको दिनको स्मरणमा यो पर्व मनाउने गरिएको चर्चका पास्चर दिपक श्रेष्ठले बताए ।
क्रिसमस अवसरमा घर घरमा ‘क्यारोल’ खेल्दै रमाइलोे गर्ने गरेको शकुन्तला श्रेष्ठले बताइन् ।यसैगरी निरज पोद्दार हिन्दु धर्मावलम्बी भए पनि चर्चमा रमाइलो गर्न आएको बताउँछन् । साथी क्रिस्चियन भएकाले आफू पनि कार्यक्रममा सहभागी हुन आउँदा रमाइलो भएको उनले बताए ।
इसाई धर्मका संस्थापक यशु ख्रिस्ट जन्मेको दिनको सम्झनामा इसाई समुदायका मानिसले क्रिसमस डे मनाउने गर्छन् ।
डिसेम्बर २५ तारिखका दिन यशु ख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका यशु ख्रिस्टले तीन मुख्य खुसियाली दिएको यस धर्मावलम्बीको विश्वास छ ।

यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको बताइएको छ ।
विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने २०६३ पछि मनाउन थालिएको हो ।
नेपालमा करिब ३० लाख इसाई धर्मावलम्बी रहेको अनुमान छ। अचेल मुख्य शहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्रि’ सजाउने गरेको देखिन्छ ।
क्रिसमसको इतिहास
करिब १६० राष्ट्रमा क्रिस्चियनहरुले क्रिसमस चाड मनाउँछन्। क्रिसमसबारे विभिन्न तथ्यहरु पाइन्छ । कतिपय कुरा पुष्टि नभएका भए पनि यसबारेमा धेरै मतहरु सार्वजनिक भएका छन् । केही कुरामा विवाद पनि हुने गरेको छ ।
हालको प्यालेस्टाइन (तत्कालीन बेथ्लेहाम) मा जन्मिएको भनिएका जिसस क्राइस्ट (येशु खिस्ट) को जन्म मिति डिसेम्बर २५ लाई क्रिसमसको रुपमा मान्ने गरेको कुनै प्रमाणित इतिहास पाइन्न। क्रिस्चियन धर्मको सबैभन्दा बलियो आधार रोमन सभ्यता र त्यही सभ्यताका तिथिमितिहरु हुन्। रोमन आफैंमा धेरै सभ्यताको समिश्रण थियो।
धर्मशास्त्रअनुसार, येशुको जन्मने बेलाको बयान र वातावरण हेर्दा उनको जन्म हिउँ नपर्ने बेलामा भएको हुनु पर्दछ। ‘लुका’ मा उल्लेख भएअनुसार येशु जन्मेको बेला भेडा गोठालाहरु खेतमा काम गरिरहेको प्रसङ्ग छ। त्यसले हिउँदको समयसँग तादम्यतता राख्दैन।
यसैगरी, अर्थोडक्स क्रिस्चियनहरुले येशुको जन्म मिति जनवरी ६ र ७ लाई मान्दछन्। कतिपय इतिहासकारहरुले उल्लेख गरेअनुसार, जिसस क्राइस्टको जन्म मार्च २५ वा एप्रिल ०६ हो।
क्रिसमस क्रिस्चियनहरुले शुरुवात गरेको मौलिक मिति पनि होइन। चौथो शताब्दीसम्म क्रिसमस पर्ब मानेको लिखित इतिहास कतै भेटिंदैन। अझ भन्नु पर्दा येशु जन्मेको बेलामा प्रकृतिमूर्ति पुजक रोमन सभ्यताको बिगबिगी थियो।
ग्रीकहरु नाटक हेरेर मनोरञ्जन लिन्थे, तर रोमन सभ्यतामा भने सर्कस, जादु हेरेर मनोरञ्जन लिइन्थ्यो। आफूले जितेका कबिलाका जनता (दास) र क्रिस्चियन मिसनरीहरूलाई रोमनहरुले जादु र सर्कसको पात्र बनाएर रमाइलो गर्थे।
रोमन सभ्यताको अन्तको सुरुवातका अनेक आयाम छन्। तर, त्यही समयमा धर्म शक्ति केन्द्र र राजनीतिको आधार बन्न शुरु भयो ।
सन् ३१२ मा कन्स्टान्टिन नामक शासकले सपनामा आफ्ना सैनिकहरुको रक्षा कबाजमा येशु क्रिस्टको चिन्ह देखेको कुरा फैलाए।
कन्स्टान्टिनले गरेको धर्म परिवर्तनले त्यति बेला अपहेलित रुपमा रहेको क्रिस्चियन धर्मलाई ठूलो सम्मान र राहत मात्र मिलेन राजनीति र धर्मलाई एकै ठाउँमा घुलमिल गरिदियो।
जसको फलस्वरूप करिब एक हजार वर्ष युरोपको समाज धर्मद्वारा निर्देशित हुन पुग्यो। त्यो समयलाई अहिलेका इतिहासकारहरुले कालो समयको उपमा दिएका छन्।

पुनर्जागरण समयको एउटा महत्वपूर्ण पक्ष भनेको धर्म र राजनीतिलाई अलग गरेर शक्ति सन्तुलन मिलाउनु थियो। त्यो बेलामा धर्मले हरेक व्यक्तिको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप निर्देशित गर्दथ्यो।
१५औं शताब्दीसम्म पुग्दा युरोपियनहरुले आफूले मानेको धर्मले आफूलाई अपमान गरेको अनुभूति गरेका थिए।
अहिले मानिदै आएको क्रिसमस येशुको जन्म दिन नभई रोमनहरुले उत्पादन गरेको अन्नबाली भगवानलाई चढाउने वा ‘स्यतार्नालिया’ भन्ने चाडको अन्तिम दिन हो।
रोमन राज्यको सन् ४४० देखि भौगोलिक पतन शुरु भए पनि क्रिस्चियन धर्मले त्यो बेलाका धेरै राष्ट्रमा रहेका मौलिक सभ्यता, पुराना धर्म र संस्कृतिलाई विस्थापित, अभिसरण र आत्मसात गरेको देखिन्छ।
यी सभ्यता केही रुपमा अहिलेसम्म छिटपुट रुपमा प्रकट भए पनि अलिखित र प्रकृति सम्बद्ध हुनाले युरोपको पुनर्जागरणले पनि उजागर गर्न सकेन।
विशेषगरी, त्यो बेलाको दुई धारको विचारको युद्ध थियो, धर्म र विज्ञान। यो द्वन्दको चपेटामा धेरै अलिखित सभ्यताहरु उठ्नै नसक्ने गरी इतिहासको खण्डहरमा बिलिन हुन पुगे।
धर्म वा संस्कृति ठूलो वा सानो भन्ने कुरा यसको दर्शन, मूल्य, मान्यता अन्य धार्मिक रुपान्तरणको इतिहासका आधारमा हेर्नुपर्छ।
इतिहास हेर्ने हो भने, क्रिस्चियन धर्मले धेरै मुलुकमा धर्म परिवर्तन गराउन सफल भएको छ। जसको प्रतक्ष्य मारमा परेका छन्, आफ्नै धार्मिक ग्रन्थ नभएका प्रकृति पुजक धर्म र सभ्यताहरु, प्राचीन रोमको पागन, मूर्ति (प्रकृति) जस्तै।
बाइबल हालसम्म सबैभन्दा धेरै झन्डै तेत्तीस सयभन्दा बढी भाषामा अनुवादित पुस्तक हो। छापाखानाको विकास भएपछि सम्भवतः सबैभन्दा धेरैपटक छापिएको पुस्तक पनि होला।
अझ रहस्यमय कुरा, हरेक भाषामा हुने अनुवादसँग त्यहाँको मौलिक परम्परा र मूल्य मान्यतालाई आत्मसात गर्दै भगवान र घटनाक्रम पनि मिलाइएको पाइन्छ।
जस्तै परमेश्वर हिन्दु शब्द हो, तर क्रिस्चियनहरुले सजिलै अपनाएका छन्। दक्षिण भारतमा धेरैजसो क्रिस्चियनहरु हिन्दुका हरेक चाडबाड मान्छन्। तर मुस्लिमहरु जुन भाषामा पनि ‘अल्लाह’ शव्द नै प्रयोग गर्छन्। जुनसुकै भाषामा पनि हिन्दुका देवताको नाम पनि उही हुने गरेको भेटिन्छ।
क्रिस्चियन धर्मको प्रतीक मानिने सल्ला जातिको रुख सदाबहार रुख हो। प्रायः शितोष्ण वातावरणमा पाइने यो रुख अहिले धार्मिकभन्दा पनि पुँजीबादी बजारको ग्राहक तान्ने विज्ञापन जस्तो हुन पुगेको छ।
यसको धार्मिक महत्व भन्दा पनि गैरधार्मिक समुदायमा पनि यो रुखको डमी (प्लास्टिक) प्रख्यात छ। यसले हाम्रो समाज कसरी बजारीकरणका माध्यमबाट परसंस्कृतिको चपेटामा च्यापिंदै गएको छ भन्ने कुरा बुझाउन मद्दत गर्छ।
यो कुरा बुझ्न उपनिवेश, पुँजिबाद, पश्चिमा संस्कारलाई आधुनिक मान्ने मनोविज्ञान अनि बजारमुखी अर्थतन्त्रबारे पनि बुझ्नु पर्छ।
‘सान्टा क्लज’ कुनै काल्पनिक पात्र होइनन् इतिहासमा खोज्ने हो भने। चौथो शताब्दीका हल्याण्ड भन्ने देशका लोकप्रिय सन्त सेन्ट निकोलस हुन् जो क्रिसमसको अघिल्लो राती बालबालिकाहरुलाई उपहार बाँड्थे।
यो नाम अपभ्रंस हुँदै ‘सान्टा क्लज’ भन्ने परम्परा निर्माण भएको पाइन्छ। अहिले जिसस क्राइस्ट भन्दा पनि सान्टा क्लज प्रख्यात छन्। गैरधार्मिक समूहले बाहिरी रुपमा हेर्दा क्रिसमस नै ‘सान्टा क्लज’ ले नै उपहार दिने चाडको रुपमा पनि बुझेका होलान्।
कतिपय षडयन्त्र सिद्धान्तवादीहरुले क्रिस्चियन धर्मावलम्बीहरुको प्रतीक चिन्ह ‘क्रस’ पनि इजिप्टसियन धर्मको भगवान होरसको ‘अन्ख’ हो भनेका छन्। तर, कतिपय चिन्हको आइकनोग्राफी मिल्यो भन्दैमा त्यस्तो भन्न मिल्दैन भन्ने जमात पनि छ।
अहिलेको क्रिस्चियन धर्मको उद्गम, विकासक्रम र प्रसारलाई हेर्ने हो भने कतिपय कुराहरु पुराना इजिप्ट, ग्रीक, बाइजन्तिअम, स्कानडिनाभिया, नोर्डिक वा हिन्दु, बौध्द, अनि थुप्रै प्रकृति पुजक आदिवासीको सम्लेशन वा मिश्रण हो।
अन्य चाडपर्बमा ‘ह्याप्पी’ भने पनि किन क्रिसमसको समयमा ‘मेरी’ शब्द प्रयोग गरिन्छ भन्ने कुराको खासै तथ्यगत उत्तर पाइँदैन।
इतिहास खोज्दै जाने हो भने चर्च अफ इंगल्याडले रोमन क्याथोलिकहरुसँग बिद्रोह गरेर राजा हेनरी आठौंले सुरु गरेको नयाँ चर्च निर्माणपछि यस शव्दको सुरुवात भएको भेटिन्छ।