काठमाडौं । नेपाल टी-२० लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सले प्रतिस्पर्धा गर्नेछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुने खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।

लुम्बिनी लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । यसअघि हिजो भएको खेलमा उसले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १ सय ५२ रन बनाएको थियो । लाहिरु मिलान्थाले ६० र दिपेन्द्र सिंह ऐरीले ३५ रन जोडेका थिए ।

जवाफमा फार वेस्ट १६ ओभर दुई बलमा ८५ रनमा अल आउट भयो । अल राउन्ड प्रदर्शन गरेका कप्तान दिपेन्द्रले तीन विकेट लिए ।

विराटनगर भने टी – २० लिगको आफ्नो पहिलो खेल खेल्दैछ ।

यस्तै आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स आमनेसामने हुनेछन् । पहिलो खेल हारेको पोखरा पुनरागमनको प्रयासमा छ ।

शनिबार उसले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं नाइटससंग २६ रनले हार बेहोरेको थियो ।

१ सय ६२ रनको लक्ष्य पछ्याएको शरद भेषावकरको टोली १ सय ३६ रनमा अल आउट भएको थियो । जनकपुर जितका साथ लिग यात्रा सुरु गर्न चाहन्छ । यो खेल त्रिवि मैदानमै दिउँसो सवा एक बजेदेखि हुनेछ ।

56
Shares
१० पुष २०७९, आईतवार १०:०७