विराटनगर । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतले ‘मधेसी भाषा’ मा शपथ लिएको भन्दै उनको गृहजिल्ला सप्तरीमा मैथिलीभाषी युवाहरुले प्रदर्शन गर्दै पुतला दहन गरेका छन् ।

मैथिली भाषा सम्बद्ध विभिन्न संस्थाहरुले अध्यक्ष राउतले मधेसी भाषामा लिएको शपथ ग्रहणसमेत बदरको माग गर्दै संसद् सचिवालयमा ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले सप्तरीका प्रजिअमार्फत संसद सचिवालयका महासचिवसमक्ष ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा अध्यक्ष राउतसहितका सांसद्हरुले मधेसी भाषामा लिएको शपथलाई अवैध ठहर गरी पुनः शपथ ग्रहण गराउनुपर्ने मागसमेत गरिएको छ ।

तीन दिनअघि प्रतिनिधिसभामा जनमत पार्टीबाट सांसद् बनेकाहरुले मधेसी भाषामै शपथ लिएका थिए । आजसम्म कतै प्रयोगमा नआएको मधेसी भाषाको नाममा शपथग्रहण गरेर जनमत पार्टीका अध्यक्ष राउतले मैथिली भाषाको अपमान गरेको भन्दै मैथिली भाषा अभियानीहरु विरोधमा उत्रिएका हुन् ।

उता जनमत पार्टीका नेता कार्यकर्ताहरुले मैथिली भाषा मधेसका कथित दुईचार उच्च जातिको मात्रै भएकाले मधेस प्रदेशमा मधेसी भाषा नै लागू हुनुपर्ने दाबी गरिरहेका छन् ।
42
Shares
९ पुष २०७९, शनिबार १८:००